वैदेशिक रोजगारीको नाममा ठगी गर्ने व्यक्ति वा संस्थालाई निर्मम भएर कारबाही गरिन्छ : मन्त्री अर्याल

सुर्खेत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले गैरकानूनी माध्यमबाट वैदेशिक रोजगारीमा गएर जोखिममा परेका श्रमिकलाई उद्धार गर्न छुट्टै कोष स्थापना गर्ने तयारी गरिएको बताएका छन् ।

सुर्खेतमा शनिबार आयोजित पत्रकारसँगको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अर्यालले हालको व्यवस्थाअनुसार श्रम मन्त्रालयले श्रम स्वीकृति लिएर जाने श्रमिकलाई मात्रै उद्धार गर्दै आएकोमा गैरकानूनी रुपमा गएका श्रमिकलाई पनि उद्धार गर्न छुट्टै कोष बन्ने जानकारी दिए ।

‘गैरकानूनीमा रुपमा गएका श्रमिक पनि नेपाली नागरिक नै हुन् । उनीहरुको उद्धार गर्नु सरकारको दायित्व हो । त्यसैले आगामी बजेटमा छुट्टै कोषको व्यवस्था गर्ने अर्थ मन्त्रालयसँग प्रस्ताव गरेका छौं’, उनले भने ।

श्रममन्त्री अर्यालले वैदेशिक रोजगारीको नाममा ठगिएमा तुरुन्तै सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरे । ठगी गर्ने व्यक्ति वा संस्थालाई निर्मम भएर कारबाही गरिने उनले प्रतिबद्धता जनाए ।

पत्रकारहरुको प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले मन्त्रालयले अगामी दिनमा श्रमिकलाई अनिवार्य रुपमा सीप तालिमको व्यवस्था गर्ने, रोजगार बैंक स्थापना गर्ने, भारतमा जाने श्रमिकको तथ्यांक संकलन गर्ने जानकारी दिए ।

उनले कर्णालीमा अथाह सम्भावना रहेको यसैलाई अवसरमा परिवर्तन गर्नुपर्ने समय आएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *