राष्ट्र बैंकले सार्वजनिक गर्‍यो वैदेशिक लगानीसम्बन्धी प्रतिवेदन

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७५/७६ को प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन सार्वजनिक गरेको छ ।

गत वर्ष नै प्रकाशित हुनुपर्ने उक्त प्रतिवेदन कोभिड-१९ कारण ढिलाइ भएको नेपाल राष्ट्र बैंकको अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक लगानी ८.८ प्रतिशतले कमी आई १ खर्व ८२ अर्ब ९२ करोड भित्रिएको थियो ।

कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ४८.२ प्रतिशत, रिजर्भ ४२.८ प्रतिशत र कर्जाको अंश ९.० प्रतिशत छ । रिजर्भको अंश २७.० प्रतिशतले घटेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा कमी आएको हो । त्यसैगरी, २०७६ असार मसान्तसम्ममा नेपालमा ५३ देशहरूको प्रत्यक्ष वैदेशिक लगानी रहेको छ ।

जसमध्ये, भारतबाट सबैभन्दा बढी अर्थात् ५६ अर्ब ५ करोड, चीनबाट २७ अर्ब ५६ करोड, सेन्ट किष्टस एण्ड नेभिसबाट २४ अर्ब ९४ करोड, आयरल्याण्डबाट ११ अर्ब ५९ करोड र सिङ्गापुरबाट ८ अर्ब ७३ करोड प्रत्यक्ष वैदेशिक लगानी रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपालमा आएको प्रत्यक्ष वैदेशिक लगानीमध्ये ५१.१ प्रतिशत सेवा क्षेत्रमा र ४८.८ प्रतिशत औद्योगिक क्षेत्रमा लगानी रहेको देखिन्छ ।

सेवा क्षेत्रअन्तर्गत कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २७.४ प्रतिशत बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरूमा रहेको सर्वेक्षणमा उल्लेख छ । औद्योगिक क्षेत्र अन्तर्गत उत्पादन क्षेत्रमा २८.६ प्रतिशत र जलविद्युत क्षेत्रमा २०.० प्रतिशत वैदेशिक लगानी भित्रिएको छ ।

प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी आवश्यक तथ्याङ्क सङ्कलन गरी यस्तो लगानीको क्षेत्रगत अवस्था एवम् प्रवृत्ति विश्लेषणका आधारमा आवश्यक नीति निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले यस नेपाल राष्ट्र बैंकले वैदेशिक लगानी सम्वन्धि प्रतिवेदन तयार गर्ने गर्दछ ।

गत वर्ष नै प्रकाशित हुने पर्ने उक्त आर्थिक वर्ष २०७५/७६ मा नेपालमा प्रत्यक्ष वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूमध्ये कुल १५३ वटा कम्पनीको नमूना छनौट गरी सर्वेक्षणबाट प्राप्त तथ्याङ्क विश्लेषणका आधारमा प्रत्यक्ष ‘वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदन, २०७५/७६’ तयार पारेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *