अर्थ सचिव मरासिनीले लिए राष्ट्र बैंक सञ्चालक समिति सदस्यको शपथ

काठमाडौं । अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैंक सञ्चालक समिति सदस्यका रूपमा शपथ लिएका छन्।

प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसमक्ष मरासिनीले सर्वोच्च अदालतमा बिहीबार शपथ लिएका हुन्। नेपाल राष्ट्र बैंक ऐनअनुसार, अर्थ सचिव राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रहन्छन्। सञ्चालक समितिका अध्यक्ष भने गभर्नर हुन्छन्।

तत्कालीन अर्थ सचिव कृष्णहरि पुष्कर सरुवा भएपछि राष्ट्र बैंकको सो पद रिक्त थियो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्य रहने व्यवस्था छ ।

सोही ऐनको दफा १०८ (१) मा बैंकका सञ्चालकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश वा निजले तोकेको न्यायाधीशसमक्ष शपथ लिनुपर्ने व्यवस्था छ ।

शपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार देवेन्द्रराज ढकाल, रजिष्ट्रार विमल पौडेल, सह–रजिष्ट्रारहरू हरिराज कार्की, ठगीन्द्र कट्टेल र अर्जुनप्रसाद कोइराला, नेपाल राष्ट्र बैंकका निर्देशक एवम् सञ्चालक समितिका सचिव मुक्तिनाथ सापकोटा लगायतका अधिकारीहरूको उपस्थिति थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *