इलाम-२ मा प्रभु साहको समर्थन मुढालाई

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) ले वैशाख १५ मा इलाम-२ मा हुने निर्वाचनमा पहिचानवादीको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका डकेन्द्रसिंह लिम्बुलाई समर्थन गर्ने भएको छ।

मुढा चुनाव चिन्ह लिएर ठूला दललाई चुनौती बनेका लिम्बुलाई पार्टीको तर्फबाट समर्थन गर्ने निर्णय भएको प्रवक्ता चन्द्र भूषण साहले बताएका छन्।

अहिलेको उपनिर्वाचन परिणामले संसदीय अङ्कगणितमा खासै फरक नपारे पनि राजनीतिक मुद्दाहरूको बहस र संघर्षमा विशेष प्रभाव राख्ने भएकाले गम्भीरतापूर्वक लिनु मतदातालाई आह्वान गरेको छ।

आजपाले भनेको छ, ‘अहिले इलाम-२ मा संघीयता नचिन्ने र संघीयता चिनेको जस्तो नाटक गरे पनि पहिचानलाई स्वीकार नगर्ने तथा सार्थक संघीयतावादीबीचको लडाइँ छ। अहिलेको लुटकारी दलतन्त्र र दलभित्रका केही मुठ्ठीभर भ्रष्ट, बेइमान एवम् धोखेबाज नेताहरूको अपराधले गर्दा नै देश अहिले सङ्कटग्रस्त अवस्थाबाट गुज्रिरहेको सन्दर्भमा यसबाट ठोस एवम् दीर्घकालीन निकासका लागि आम नागरिकको सर्वोच्चता स्थापित गराउन महत्त्वपूर्ण भूमिका एवम् योगदान गर्ने सक्ने कुशल, कर्तव्यनिष्ठ, इमानदार एवम् प्रतिबद्ध नेतृत्वको छनौट जरुरी छ।’

लिम्बुलाई यसअघि नै उपेन्द्र यादव नेतृत्वको जसपा, बाबुराम भट्टराई नेतृत्वको नेसपा, धरान उपमहानगरका प्रमुख हर्क साम्पाङलगायतले समर्थन जनाएका छन्।

इलाम दुईमा एमालेको तर्फबाट सुहाङ नेम्वाङ, कांग्रेसबाट डम्बर खड्का, रास्वपाबाट मिलन लिम्बू प्रतिस्पर्धामा छन्। एमालेका नेम्वाङलाई माओवादीले पनि समर्थन गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *