कोशी प्रदेशसभामा परिमार्जित सङ्कल्प प्रस्ताव : मुख्यमन्त्रीले वैशाख २६ भित्र विश्वासको मत नलिए वैकल्पिक सरकार !

विराटनगर । नेकपा एमाले र माओवादी केन्द्रले कोशी प्रदेश सचिवालयमा पेस गरेको सङ्कल्प प्रस्तावको सूचना परिमार्जन गरेका छन् ।

एमाले कोशी प्रदेश संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारी प्रस्तावक, माओवादी केन्द्रका प्रदेश सभा सदस्य गणेश प्रसाद उप्रेती र एमालेका प्रदेश सभा सदस्य किशोरचन्द्र दुलाल समर्थक रहेको परिमार्जित सङ्कल्प प्रस्ताव आज संसद् सचिवालयमा पेस गरिएको हो ।

वैशाख ३ गते दर्ता भएको सङ्कल्प प्रस्तावमा केही परिमार्जन गर्न मनासिब देखिएको हुँदा परिमार्जित सङ्कल्प प्रस्ताव संसद् सचिवालयमा पेस भएको सङ्कल्प प्रस्तावमा उल्लेख छ ।

परिमार्जन गरी पेस गरिएको परिमार्जित सङ्कल्प प्रस्तावलाई प्रदेश सभाको बैठकमा पेस गर्न अनुरोध गरिएको छ ।

कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ्गले भोली कोशी प्रदेश सभाको अधिवेशन बोलाएका छन् । अधिवेशन सुरु हुनुभन्दा अगाडि सङ्कल्प प्रस्ताव परिमार्जन गरिएको प्रमुख सचेतक रेवतीरमण भण्डारीले बताए ।

परिमार्जित सङ्कल्प प्रस्तावमा चैत्र ‘२६ को मितिले संविधानको धारा १८८ को उपधारा २ बमोजिम प्रदेश सभाको बैठकमा आफू माथि विश्वास छ भन्ने प्रस्ताव राखी विश्वासको मत लिन प्रदेश सभाको बैठकबाट माननीय मुख्यमन्त्री ज्यू लाई निर्देशन गरियोस् ’ भनी उल्लेख छ ।

परिमार्जित सङ्कल्प प्रस्तावमा मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता भइसकेको परिस्थितिमा सरकारको नियमित कार्य बाहेक दीर्घकालीन महत्त्वका कुनै निर्णय नगर्न नगराउन प्रदेश सरकार र सरकार सम्बद्ध अधिकारीलाई प्रदेश सभाको यो बैठकबाट निर्देशन गरियोस्’ भन्ने उल्लेख छ ।

परिमार्जित सङ्कल्प प्रस्तावमा नेपालको संविधानको धारा १८८ (२) बमोजिम मुख्यमन्त्रीले वैकल्पिक सरकारका लागि मार्ग प्रशस्त नगरेमा, विश्वासको मत नलिएमा वा विश्वासको मत प्राप्त नगरेमा त्यस पछिका दिनमा सरकारको वैधानिकता समाप्त हुने हुँदा स्वाभाविक ढङ्गले माननीय कोशी प्रदेश प्रमुखले नेपालको संविधान बमोजिम नयाँ वैकल्पिक सरकार गठनको प्रक्रिया प्रारम्भ गर्नु हुने तथ्य प्रदेश सभाको यो बैठक प्रदेश प्रमुखलाई सन्देश प्रवाह गर्न कोशी प्रदेश सभा सचिवालय लाई निर्देशन दिने उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *