कांग्रेस कराउनु र रवि डराउनुको अर्थ

अहिलेको राजनीति देख्दा पाकेटमार युगको एउटा कथा सम्झना आयो । कथा लेख्नु अगाडि आजकाल नगद बोक्ने चलनबारे लेखौं । आजकाल मानिसहरू ब्याग, पर्स या खल्तीमा धेरै नगद बोक्दैनन् । डिजिटल वालेटमा बोक्छन् । त्यसैले पाकेटमारको संख्या घटेको छ । उहिले जताततै पाकेटमारदेखि सावधान लेखिएको हुन्थ्यो, आजकाल त्यति देखिँदैन । पाकेटमार युगमा काठमाडौंको रत्नपार्कमा एकजना पाकेटमार रंगेहात फेला पर्‍यो तर भागिहाल्यो । सबैजना ‘पाकेटमार, पाकेटमार’ भन्दै लखेट्न थाले । पाकेटमार पनि ‘पाकेटमारलाई समात’ भन्दै अगाडितिर देखाउँदै भाग्यो । को पाकेटमार हो र को होइन भनेर सबै अलमलमा परे । पाकेटमार सकुशल उम्कियो ।

रवि लामिछानेको पार्टीले ०४७ सालपछि पदमा बसेकाहरू सबैको सम्पत्ति छानबिनको माग गरेको छ । लागेको छ सहकारी घोटालाको आरोप, जवाफ चाहिँ सबैको छानबिन गरौं भन्ने । यो पाकेटमार शैली जस्तो भयो ।

रवि गाँसिएको सहकारी घोटालाको आरोपमा संसदीय छानबिन समिति बनाउनुपर्ने नेपाली कांग्रेसको माग अनौठो छ । रवि गृहमन्त्री बनेपछि मात्र कांग्रेसलाई छानबिन समिति चाहियो । एमाले र माओवादीसँग मिल्न रवि नगएको भए कांग्रेसलाई छानबिन समिति चाहिँदैनथ्यो । अहिले पनि गृहमन्त्री पद छाडेर रविले सरकार गिराउने हो भने कांग्रेसले छानबिन समितिको मागलाई रद्दीको टोकरीमा हालिदिन्छ भनेर अनुमान गर्न गलत हुँदैन ।

अहिले जे भइरहेको छ त्यसबाट सबैभन्दा धेरै क्षति कांग्रेस र रास्वपालाई भइरहेको छ । कांग्रेसले प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेको छ । संसद् अवरोध गर्नु कांग्रेसलाई सुहाउँदैन । संसद् बैठकमा अन्य पार्टीका सांसद्हरूलाई बोल्न नदिने जस्तो अति अलोकतान्त्रिक व्यवहार समेत कांग्रेसले देखायो । संसदीय प्रणालीको वैचारिक अगुवाका रूपमा कांग्रेसले आफूलाई स्थापित गरेको थियो । कांग्रेसले आफ्नो त्यो हैसियत र विश्वशनीयता गुमाएको छ । गृहमन्त्री रविलाई प्रतिनिधिसभामा बोल्न नदिएर कांग्रेसले ठूलो गल्ती गरेको छ । बोल्नबाट रोक लगाउने काम गर्नु कांग्रेसलाई त सुहाउँदै सुहाउँदैन, कुनै पनि पार्टीलाई सुहाउँदैन । यो निकृष्ट काम कांग्रेसले गरेको छ ।

रविलाई त झन् ठूलो क्षति भएको छ ।

रवि गाँसिएको सहकारी ठगी काण्डमा छानबिन थालेको घोषणा यसअघिका गृहमन्त्री नारायणकाजी श्रेष्ठले गरेका थिए । रविउपर जाहेरी नै परेको सन्दर्भमा गृहमन्त्रीले त्यस्तो घोषणा संसद्कै एक समितिको बैठकमा गरेका थिए । यस्तो अवस्थामा रविले मन्त्री बन्न हुँदैनथ्यो, मन्त्री बने पनि गृहमन्त्री बन्न हुँदैनथ्यो, अरु नै मन्त्रालय छान्नुपर्थ्यो । यसबाट रविको इमानदारीमा ठूलो प्रश्न खडा भएको छ ।

संसदीय छानबिन समितिको माग र त्यसको विरोधले प्रतिनिधिसभाको महत्वपूर्ण समय नष्ट गरेको छ । छानबिन समितिको विवाद आफ्नै ठाउँमा छ, प्रतिनिधिसभालाई परिणामुखी बनाउने, प्रतिनिधि सभाबाट विधेयकहरू पारित गर्ने काममा न नयाँ पार्टीहरूको ध्यान छ, न पुराना पार्टीहरूको ध्यान छ । सबै मिलेर संसद् बिगार्दै छन्, सबै मिलेर देश राजनीति बिगार्दै छन् ।

गृहमन्त्री पदमा बसेरै रविले छानबिन गरियोस्, समिति बनाइयोस् भन्न सक्नुपर्थ्यो । यति हिम्मत गरेको भए हुने । किनभने छानबिन समितिमा रविको पार्टीका सांसद् पनि रहन्थे, ती सांसदले रविलाई जोगाउन भूमिका खेलिहाल्थे । सत्तापक्षका एमाले र माओवादीका सांसद् पनि समितिमा रहन्थे । छानबिन समितिमा रविलाई जोगाउने र चोख्याउनेहरूकै बहुमत हुन्थ्यो । आफूविरुद्ध केही तथ्य प्रमाण भए त्यसलाई समितिसम्म पुग्नै नदिने हैसियत रविसँग छँदै थियो । छानबिन समिति बनाउन रविले मानेको भए हुने, नमान्नुले धेरै प्रश्न उठेको छ ।

गृहमन्त्री रविले आफू गृहमन्त्री हुँदा पनि आफूविरुद्ध मातहत निकायले छानबिन गर्ने र त्यसमा आफूले कुनै हस्तक्षेप नगर्ने, कुनै प्रभाव नपार्ने भनेका थिए । उनको यो कुरालाई सुरूमा विश्वास गरियो, रवि इमानदार छन् भन्ने नै ठानियो । तर, अघिल्ला गृहमन्त्रीले सहकारी ठगीमा अघि बढाएको छानबिन अहिले ठप्प भएको छ । रवि गाँसिएको सहकारी ठगी प्रकरणमा सरकारी निकायले गोप्यरूपमा छानबिन गरिरहेको छ भने थाहा भएन नत्र यस विषयमा छानबिन र कारबाही प्रकृया अगाडि बढेको देखिएन । रवि गृहमन्त्री बन्नु अनि ठगी छानबिन ठप्प हुनु एकसाथ भएको छ, यसले पनि धेरै प्रश्न उठाएको छ । प्रश्न मात्र नभएर रवितिर चोर औंला तेर्सिएको छ ।

सहकारी ठगीको विषयमा छानबिन गर्ने मागलाई काउन्टर दिन ०४७ सालपछिका सबै छानबिन गरौं भन्नु झनै गलत हो । म गर्छु आग्राको कुरा, उ गर्छ गाग्राको कुरा भन्ने नेपाली उखानजस्तै हो यो माग । तत्काल उठेको मागलाई ढाकछोप गर्न त्योभन्दा ठूलो माग काउन्टरमा उठाउनु बेठिक हो । ०४७ सालपछिका सबै छानबिन गरौं भन्नु अमूर्त माग हो । यो माग सडकमा लोकप्रिय हुनसक्छ तर पटक्कै व्यवहारिक छैन । नेपालमा केही वर्षयता सतही, क्षणिक र उडन्ते माग तथा कुराहरू जनस्तरमा व्यापक फैलने गरेको छ, अव्यवहारिक तर चर्का कुरा गर्नेहरू राजनीतिमा पनि हावी हुँदै गएका छन् । ०४७ पछिका सबै छानबिन गरौं भन्नु उडन्ते माग हो । यो मागमा ताली प्रशस्त आउँछ । नेपालमा तालीका लागि जेसुकै बोलिदिने प्रथा छ । तालीका लागि मात्र गरिने मागको अर्थ हुँदैन ।

०४७ पछिका सबै छानबिन गर्ने भनेको के हो ? ०४७ पछि पदमा बसेका सबैको छानबिन गर्ने हो भने कति ठूलो आयोग चाहिन्छ होला ? आयोगलाई कति धेरै कर्मचारी चाहिन्छ होला ? समय कति वर्ष लाग्छ होला ? त्यसको प्रतिवेदन कति लाख पृष्ठको बन्छ होला ? यतातिर पनि विचार गरौं । आयोगले तयार गरेको लाखौं पेजको प्रतिवेदन कहाँबाट कार्यान्वयन थाल्ने ? कहाँबाट कारवाही थाल्ने भनेर निर्णय गर्न पनि एउटा नयाँ आयोग नै चाहिन्छ ।

०४७ पछि पदमा पुगेका सबैको छानबिन गर्न वर्षौं लाग्छ । छानबिन नै गर्ने हो भने ०४७ पछिको मात्र किन गर्ने ? पञ्चायतकालको पनि छानबिन गरौं भनेर माग उठ्छ । देशमा सबैभन्दा धेरै लुट भएको राणाकालमा हो । राणाकालको चाहिँ छानबिन किन नगर्ने ? यो कुरा पनि उठ्नेछ । ०४७ सालपछिका सबैको छानबिन गरौं भन्नुको अर्को अर्थ कसैको पनि छानबिन नगरौं भन्नु पनि हो ।

अहिलेको आवश्यकता उहिलेदेखिको छानबिन गर्ने होइन, नयाँनयाँ काण्डहरूको सिर्जना नगर्ने हो । ०४७ सालदेखिको छानबिन गरौं भनिँदै गर्दा भित्रभित्रै कतिवटा काण्ड सिर्जना भइरहेको होला ? यो पनि विचार गरौं । अहिलेको मुख्य आवश्यकता भ्रष्टाचार नगर्ने हो । भ्रष्टाचार नगर्ने काम चाहिँ मुख्य काम हो ।

रवि गाँसिएको सहकारी घोटालाको आरोपमा संसदीय छानबिन समिति बनाउनुपर्ने नेपाली कांग्रेसको माग अनौठो छ । रवि गृहमन्त्री बनेपछि मात्र कांग्रेसलाई छानबिन समिति चाहियो । एमाले र माओवादीसँग मिल्न रवि नगएको भए कांग्रेसलाई छानबिन समिति चाहिँदैनथ्यो । अहिले पनि गृहमन्त्री पद छाडेर रविले सरकार गिराउने हो भने कांग्रेसले छानबिन समितिको मागलाई रद्दीको टोकरीमा हालिदिन्छ भनेर अनुमान गर्न गलत हुँदैन ।

०४७ पछिका सबैको छानबिन नै गर्ने हो भने सबैको गर्न आवश्यक छैन । खासखास काण्डहरूको मात्र छानबिन गर्ने हो भने त्यसले निष्कर्षमा पुराउला, त्यसो नगरेर सबैको छानबिन गर्ने हो भने कुनै निष्कर्षमा पुगिँदैन । जस्तो कि ०४७ साल यता लिजमा दिइएका जग्गा सम्बन्धमा छानबिन गर्न सकिन्छ, वार्षिक बजेट बनाउँदा गरिएका नीतिगत भ्रष्टाचार सम्बन्धमा छानबिन गर्न सकिन्छ । यस्ता धेरै आधार हुनसक्छ । छानबिन व्यक्तिको होइन प्रकरणको गरिनुपर्छ । पदमा पुगेका सबै व्यक्तिका बारे छानबिन गर्ने भन्नु अर्थहीन हो । यस्ता अर्थहीन छानबिनमा देशलाई फसाएर कुनै निष्कर्ष निस्कँदैन ।

अहिले प्रचारमुखी काममा सबैको ध्यान छ । देशको आवश्यकता प्रचारमुखी होइन, परिणामुखी काम हो । परिणाम नदिने, प्रचार मात्र हुने काममा सबै नेता, मन्त्री, सांसद्हरूको ध्यान छ । यही भएकाले संसद् भनेको बोल्ने मञ्चमात्र बनेको छ । संसद्ले कैयन युगान्तकारी काम गर्नु छ, अति महत्वपूर्ण विधेयकहरू बनाउनु छ । त्यतातिर नयाँ पार्टीको पनि ध्यान छैन, पुराना पार्टीको पनि ध्यान छैन । संसद् बैठकमा जाने, शून्य समय, विशेष समय, आकस्मिक समयमा भाइरल कन्टेन्ट बोल्ने, आफूले बोलेको भिडिओमा कति लाइक कमेन्ट र शेयर भयो भन्दै गनेर बस्नेमा धेरै जसो सांसद् केन्द्रित छन् । वडा सदस्य, वडाअध्यक्षदेखि मेयर-उपमेयर, मन्त्री उपप्रधानमन्त्री, प्रधानमन्त्री सबैको ध्यान कसरी भाइरल बन्न सकिन्छ भन्नेमा छ । काठमाडौंका मेयर बालेन शाहलाई नै हेरौं, काठमाडौंमा विकासको ठोस काम कुनै भएको छैन, परिणामुखी काम भएको छैन, मात्र प्रचारमुखी काम मात्र बालेनबाट भइरहेको छ । मन्त्रीहरू पनि प्रचारमुखी काममै केन्द्रित छन् ।

संसदीय छानबिन समितिको माग र त्यसको विरोधले प्रतिनिधिसभाको महत्वपूर्ण समय नष्ट गरेको छ । छानबिन समितिको विवाद आफ्नै ठाउँमा छ, प्रतिनिधिसभालाई परिणामुखी बनाउने, प्रतिनिधि सभाबाट विधेयकहरू पारित गर्ने काममा न नयाँ पार्टीहरूको ध्यान छ, न पुराना पार्टीहरूको ध्यान छ । सबै मिलेर संसद् बिगार्दै छन्, सबै मिलेर देश राजनीति बिगार्दै छन् ।

सबै बिगार्ने मात्र, बनाउने चाहिँ को ? आजको मुख्य प्रश्न यही हो ।

Comments

2 responses to “कांग्रेस कराउनु र रवि डराउनुको अर्थ”

  1. महेश बर्तौला Avatar
    महेश बर्तौला

    यो हावा केटाकेटी कुरा आयो ।
    सामान्य ज्ञान रैन छ

  2. Ashok Chakra Avatar
    Ashok Chakra

    “गृहमन्त्री पदमा बसेरै रविले छानबिन गरियोस्, समिति बनाइयोस् भन्न सक्नुपर्थ्यो ।” भन्ने कुरा एकदमै जायज छ। त्यसो नगर्नाले शंका गर्ने ठाउँ हुन्छ। के रविलाई राजनितीमा कमाएको ख्याति गुम्ने डर हो? वा छानबिन बाट केही मात्रामा भए पनि आफ्नो छबि धमिलो हुने डर हो? भ्रस्ट राजनितीक बातावरणमा स्वच्छ छबि भएको पात्रको रुपमा प्रस्तुत गर्दै गर्दा सानो गल्तिले पनि ठुलो असर पार्ने डर हुनु स्वभाबिक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *