नेपाललाई विश्व शान्तिको केन्द्र बनाउन शीर्ष नेताहरुले गरे ५ बुँदे संकल्प प्रस्तावमा हस्ताक्षर

रुपन्देही । नेपाललाई विश्व शान्तिको केन्द्र बनाउन सबै दलका शीर्ष नेताहरुले हस्ताक्षर गरेका छन् । जीवन विज्ञान प्रतिष्ठानले शनिबार लुम्बिनीमा प्रधानमन्त्री प्रचण्डसहित सबै दलका शीर्ष नेताहरुलाई जुटाएर ५ बुँदे लुम्बिनी सङ्कल्पपत्रमा हस्ताक्षर गराएको हो ।

प्रतिष्ठानका अध्यक्ष देवी शर्माले प्रस्ताव गरेको सङ्कल्पपत्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री जोखबहादुर महरा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, एमाले महासचिव शंकर पोखरेलले हस्ताक्षर गरेका छन् ।

त्यस्तै सांसद तथा जनमतका महामन्त्री चन्दन सिंह, सांसदहरु वासुदेव घिमिरे र सुरेन्द्र पाण्डे, लुम्बिनीका प्रमुख सचिव राधिका अर्याल, प्रशिक्षक एलपी भानु शर्मा र रमेश नेपालले हस्ताक्षर गरेका छन् ।

संकल्प प्रस्तावमा योगभूमि, ज्ञानभूमि, बुद्धभूमि, तपोभूमि नेपाललाई मैत्रीभाव, समानता र शान्तिको प्रवर्द्धन गरी नागरिकको शान्ति र समृद्धिको आकांक्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवं परिचालन गर्ने सबै जात, धर्म, लिंग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रको रूपमा रुपान्तरित गर्दै नेपाललाई विश्वशान्तिको केन्द्र (वर्ल्ड पीस सेन्टर)को रूपमा विकास गर्ने सङ्कल्प गरिएको छ ।

त्यसैगरी संवत् २०८१ को प्रवेशसँगै हामी हाम्रो भूमिमा उत्पत्ति भएको ध्यान र योग देशभर प्रवर्द्धन गर्ने सङ्कल्प गर्दछौं । साथै पूर्वीय संस्कृतिको प्रयोग, सम्बर्द्धन तथा अभिवर्द्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषय सम्बद्ध उपयुक्त पाठ्यक्रम एवम् तालिमका लागि उपयुक्त जनशक्ति तयार गर्ने सङ्कल्प गरिएको छ ।

तेस्रो संकल्पमा नेपाल राष्ट्रमा रहेको ज्ञान, ध्यान, योग र चिकित्सा पद्धतिलाई विश्वसामु उपलब्ध गराएर समग्र विश्व शान्ति एवम् सहअस्तित्वको सन्देशका लागि वैज्ञानिक पद्धतिको सञ्चार गर्ने र विदेशस्थित नियोग, दूतावास एवं कूटनीतिक सञ्जालमार्फत विश्वभर फैलाउने सङ्कल्प गरिएको छ ।

चौथो संकल्पमा ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्र (पीस टुरिजम सेन्टर)को रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्‍याउने र देशभर ध्यान र योग प्रवर्द्धन गर्न सक्रिय र समर्पित संस्था तथा अभियन्ताहरुसँग सहकार्य गरी सबै सरकारी एवं पर्यटकीय स्थल तथा कार्यालयहरुमा ध्यान तथा योग पद्धतिको प्रयोगका लागि उपयुक्त व्यवस्था गर्ने सङ्कल्प गरिएको छ ।

उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले राजनीतिक पुनर्संरचनामा सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताएका थिए ।

नेपालीलाई पूर्ण रूपान्तरणको बाटोमा लगेर एउटा सबल, शान्तिप्रेमी र ऊर्जाशील नागरिक बनाउन सकिन्छ भन्ने आफूमा विश्वास रहेको उनको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एसका अध्यक्ष नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, नेकपा एमाले महासचिव शंकर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्याल, जीव विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्मालगायतले योग तथा जीव वित्रानका विषयमा आफ्ना धारणा राखेका थिए ।

Comments

One response to “नेपाललाई विश्व शान्तिको केन्द्र बनाउन शीर्ष नेताहरुले गरे ५ बुँदे संकल्प प्रस्तावमा हस्ताक्षर”

  1. अशोक प्रसाद सञ्जेल Avatar
    अशोक प्रसाद सञ्जेल

    बाट्टो बिराएका पाईलाहरु क•फुल कमल दाहल….जसले राजा विरेन्द्र शान्तिक्षेत्रको प्रस्ताव विथोल्न भारतिय र युरोपिएनको मतियार भएर जनयुद्द नामको धनयुद्द चलायो,जसले देवतामा अविश्वास गर्यो….कठै अाज देवभुमि ॥ज्ञानभुमि योगभुमि रे….

Leave a Reply

Your email address will not be published. Required fields are marked *