काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई एउटा उद्योगधन्दा खोलेर देखाउन चुनौती दिएका छन् ।
ललितपुरमा आयोजित पार्टी कार्यक्रममा बोल्दै उनले कांग्रेसले देशको उद्योगधन्दा बेचेर खाएको आरोप लगाएको भन्दै कम्युनिष्ट सरकारले अहिले एउटा उद्योग खोलेर देखाउन चुनौती दिए ।
उनले भने, ‘एउटा कम्युनिष्ट पार्टीको नेता, पूर्वप्रधानमन्त्रीले बेला बेलामा उभिएर के भनिदिनुहुन्छ भने कांग्रेसले उद्योगधन्दा बेचेर खायो । ल अहिले कम्युनिष्ट पार्टीको सरकार छ । प्रधानमन्त्री पुष्पकमल दाहाल हुनुहुन्छ, अहिलेको गठबन्धनको सर्वोच्च नेता केपी शर्मा ओली हुनुहुन्छ । अर्थमन्त्री वर्षमान पुन हुनुहुन्छ । सबै कम्युनिष्ट पार्टीको सरकार छ । कांग्रेसलाई पटक पटक उद्योग, कलकारखाना बेचेको आरोप लगाएको होइन ? ल यसपालि बजेट तपाईंहरुले बनाउने, यसपालिको बजेटमा म यहीबाट सरकारसँग माग राख्छु, यो पटकको बजेटमा कांग्रेसले बेचेर खाएको हुनाले गर्दा तपाईंले यो पटक खोल्नुस् ।’
सरकारले उद्योगधन्दा गर्ने नभइ निजी क्षेत्रले गर्नेमा कम्युनिष्टहरु जानकार रहेकाले पनि खोल्न नसक्ने उनको भनाइ छ ।
महामन्त्री थापाले थपे, ‘नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको सरकारले चुरोट कारखाना खोलोस् । जुत्ता, रक्सी, सिमेन्ट, कपडा उद्योग खोल्नुस्, एउटा खोलेर देखाओस् । तपाईंहरुको हातमा डाडु पन्यु छ, खोल्नुस् । उहाँहरुले खोल्नुहुन्न, उहाँहरुलाई थाहा छ, सरकारले चुरोट, रक्सी बनाउने होइन रहेछ ।’

Leave a Reply