वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा सचिवको घोषणा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारीले माध्यमिक शिक्षा परीक्षा (एसईई) र विश्वविद्यालयको शिक्षामा वर्षमा दुई पटक भर्ना गराउने गरी नीतिगत प्रबन्ध गरिने बताएका छन् ।

अनुगमन शैक्षिक फाउन्डेसनले सोमबार आयोजना गरेको ‘नेपाल शिक्षा सम्मेलन २०२४’ को उद्घाटन सत्रमा उनले वार्षिक परीक्षामा अनुत्तीर्ण हुने विद्यार्थीको समय क्षति भई पढाइ छाड्ने वा उनीहरू अवसरको खोजीमा विदेश जाने प्रवृत्ति देखिएकाले त्यस्तो नीतिका लागि बहस भइरहेको बताए ।

कक्षा नौ देखि १२ कक्षामा ४३ प्रतिशत विद्यार्थी विद्यालय बाहिर हुन पुगेको, उच्च शिक्षामा १५ देखि २० प्रतिशत मात्रै विद्यार्थी भर्ना भएको र सवा लाख विद्यार्थी वार्षिक विदेश जाने स्थितिप्रति आफूहरू चिन्तित भएकाले नीतिगत पुनरावलोकन र संस्थागत सुधार आवश्यक भएको शिक्षा सचिव अधिकारीको भनाई थियो ।

उनले भने, ‘राम्रो पठनपाठन हुने उच्च शिक्षाका कलेज पनि नेपालमा नभएका होइनन् । तर, नेपालबाट बाहिर जाने विद्यार्थी पढ्नकै लागि भन्दा आफ्नो भविश्य र स्मार्ट जबका लागि विदेश गएका छन् । यस सवाललाई हाम्रो नीतिले सम्बोधन गर्नुपर्छ । विश्वविद्यालय पढ्ने र पढाउने संस्था मात्र नभई अनुसन्धान र उत्पादन गर्ने संस्थाका रुपमा विकसित हुनुपर्छ । विश्वविद्यालयलाई सरकारले सधैँ पैसा दिँदैन । उनीहरू आत्मनिर्भर हुनुपर्छ ।’

नेपाल खुल्ला विश्वविद्यालयका पूर्व उपकुलपति प्रा.लेखनाथ शर्माले पुस्तान्तरणबीचको खाडललाई मेट्न सक्ने गरी सूचना र प्रविधि सापेक्ष शिक्षा नीति र प्रयोगिताको अभ्यासमा ध्यान दिन आग्रह गरे ।

कार्यक्रममा दिगो विकासका लक्ष्य र शिक्षा नीति, प्राविधिक शिक्षा, कृषि, शिक्षा स्वास्थ्य र वातावरण शिक्षा, वित्तीय क्षेत्र र शिक्षा आदि विषयमा सम्बन्धित विज्ञ र सरोकार भएका व्यक्तिबीच समूह छलफल भएको थियो ।

 

Comments

One response to “वर्षमा दुईपटक भर्नाको नीति ल्याउने शिक्षा सचिवको घोषणा”

  1. सोमनाथ ढुंगाना Avatar
    सोमनाथ ढुंगाना

    नयाँ नयाँ पार्टी थपिदा भाग कमी भएर भागपूरताल गर्न पैसा उठाउन खोजेको कि साच्चै तह बृद्धि गरी बिध्यार्थी का लागि सरल र शुलभ शिक्षा दिने हो? नयाँ नयाँ तरिकाले सत्तामा रहेर व्यापार गर्छन् नेपालमा शंकै लाग्छ क्या।

Leave a Reply

Your email address will not be published. Required fields are marked *