प्राथमिक शिक्षक नियुक्तिका लागि सिफारिस

काठमाडौं । शिक्षक सेवा आयोगले खुला प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका प्राथमिक तह, तृतीय श्रेणीका शिक्षकको नियुक्तिका लागि शिक्षा, तथा मानव स्रोत विकास केन्द्रलाई सिफारिस गरेको छ ।

आयोगले परीक्षाबाट छनोट भएका उम्मेदवारको जिल्लागत एकमुष्ट योग्यताक्रम सूची र नतिजा विवरणसहित स्थायी नियुक्तिका लागि केन्द्रलाई सिफारिस गरेको हो ।

आयोगको चैत १४ गते बसेको बैठकको निर्णय अनुसार केन्द्रलाई सिफारिस गरिएको आयोगका प्रवक्तासमेत रहेका उपसचिव कृष्णप्रसाद ढुंगानाले जानकारी दिए ।

आयोगले सिफारिस गरे लगत्तै शिक्षा तथा मानव स्रोत विकास केन्द्रले पनि सबै जिल्लामा शिक्षक नियुक्ति तथा पदस्थापनका लागि परिपत्र गरेको छ ।

प्राथमिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुला प्रतियोगितात्मक परीक्षाबाट सिफारिस भएका उम्मेदवारको जिल्लागत विवरण र गत कात्तिक १३ गते शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री स्तरीय निर्णयबाट स्वीकृत भएको शिक्षक पदस्थापनका आधारसमेत ७७ वटै शिक्षा विकास तथा समन्वय इकाइलाई पठाइसकिएको केन्द्रका सूचना अधिकारीसमेत रहेका उपसचिव सुरेशकुमार जोशीले जानकारी दिए ।

आयोगले २०७९ चैतमा काठमाडौँबाहेक ७६ जिल्लाका लागि ७ हजार ९५४ शिक्षक माग गर्दै विज्ञापन गरेको थियो । त्यसअनुसार गत जेठ २० गते सामान्य र असोज १३ गते विषयगत परीक्षा सञ्चालन भएको थियो ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *