नाबालिका समलिङ्गी महिला जोडीमाथि कुटपिटः प्रहरी र मानव अधिकार आयोगमा उजुरी

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकामा नाबालिकामाथि कुटपिट भएको घटना विरुद्ध प्रहरी र राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ । लैङ्गिकता तथा यौनिकताबारे रहेको अज्ञानताका कारण परिवार र इष्टमित्रबाट हिंसा हुनुले दुई नाबालिकाको अवस्था दर्दनाक बनेको भन्दै यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हक अधिकारका लागि काम गर्दै आएको मायाको पहिचान नेपालले प्रहरी र आयोगमा उजुरी गरेको हो ।

सोमबार पत्रकार सम्मेलन गर्दै पहिलो संविधान सभा सदस्य एवं मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले नाबालिकालाई सुरक्षा प्रदान गर्न माग गरेका छन् ।

उनले नेपाल प्रहरी र मानव अधिकार आयोगमा नाबालिकाको सुरक्षाका लागि निवेदन दिएको जानकारी दिए । नाबालिकामाथि परिवार र आफन्तबाटै कुटपिट भएको घटनाको निष्पक्ष छानबिन गर्न पन्तको माग छ ।

उनले भने, ‘१७ र १६ वर्षका नाबालिकालाई भागी विवाह गरेको आरोपमा कपाल भुत्ल्याउने, लौरोले हान्ने मात्रै नभएर लात्तैलात्ताले कुटपिट गर्नु क्रूर अमानवीय व्यवहार हो । सार्वजनिक रूपमा व्यक्तिको लैङ्गिकता तथा यौनिकताका आधारमा हिंसा हुँदासमेत छानबिन गरी दोषीलाई कानुनी कारबाही नगर्नु लज्जास्पद छ ।’ हिंसामा परेका नाबालिकाको सामाजिक सञ्जालमा भिडियो भाइरल भएको छ ।

पन्तले भने, ‘एकातिर उमेर नपुगेका नाबालिका अर्कोतिर परिवारले कुटपिट गरेको घटना व्यक्तिको अनुमति बिना अतिरञ्जित गरेर सार्वजनिक हुँदा थप चिन्ता थपिएको छ । हामी नेपाल सरकार, गृह प्रशासन, मानव अधिकार आयोग, स्थानीय जनप्रतिनिधि सबैलाई नाबालिकालाई सुरक्षा प्रदान गर्न हार्दिक अपिल गर्दछौ ।’

लैङ्गिकता तथा यौनिकताबारे समाचार सम्प्रेषण गर्दा सामान्य मानव अधिकारमा ख्याल गरिदिनुहुन पनि मायाको पहिचान नेपालले आग्रह गरेको छ । हिंसामा परेका नाबालिकालाई तत्काल सुरक्षासँगै अभिभावकलाई परामर्शको आवश्यकता देखिएकाले तत्काल यसमा ध्यान दिन नेपाल सरकारसँग मायाको पहिचान नेपालको माग छ ।

पहिलो समलिङ्गी विवाह दर्ता गर्न सफल मायाको पहिचान नेपालका सचिव सुरेन्द्र पाण्डेले कैलालीकै एउटा पालिका समलिङ्गी तेस्रो लिङ्गीको विवाह दर्ता गर्ने अर्को पालिकामा हिंसा हुने अवस्था आउनु दुखद भएको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *