काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को लापरवाहीले विद्यार्थीले सास्ती भाेग्नु कुनै नौलो कुरा होइन । पछिल्लो समय विद्यार्थीको भविष्यसँग गाँसिएको यस्तै लापरवाहीको सूची परीक्षा नियन्त्रण कार्यालय (पनिका) ले फेरि थपेको छ । रिजल्ट निकाल्ने बेलामा उत्तरपुस्तिका नै हराएपछि यतिखेर तनावमा छन् यहाँका कर्मचारी ।
पनिकामा स्नातक तह (बीए) प्रथम वर्षको जनसंख्या विषयको उत्तरपुस्तिका हराएको हो । गत वैशाखमा भएको जनसंख्याको उत्तरपुस्तिका सम्परीक्षण गर्नुअघि नै हराएको स्रोत बताउँछ । एकलट परीक्षण भएको उत्तरपुस्तिका सम्परीक्षकले २० प्रतिशत (र्याण्डम्ली) पुन: जाँच गर्छन् । स्रोतका अनुसार देशभरबाट ल्याइएको १६५ वटा उत्तरपुस्तिकाको पोकै सम्परीक्षण गर्नुअघि हराएको छ ।
उत्तरपुस्तिका हराएको विषयमा छानबिनका लागि पनिकाले इतिहास विभागका प्रमुख ईश्वरी कँडेलको संयोजकत्वमा छानबिन समिति बनाएको छ । समितिलाई प्रतिवेदन बुझाउन एक साताको समय सीमा दिइएको छ ।
पनिकाले उक्त विषयको गुपचुपरूपमा पुन: परीक्षा गराउने गरी गृहकार्य थालिएको छ ।
‘सूचना निकालिरहने कुरा भएन । सम्बन्धित क्याम्पसमै जति परीक्षार्थी छन् त्यहीअनुसार पपुलेसनको प्रश्नपत्र पठाएर जतिसक्दो छिटो परीक्षा चलाउँछौं । रिजल्टको टाइम आइसक्यो’, ती अधिकारीले नेपाल प्रेससँग भने ।
के भन्छ पनिका ?
उत्तरपुस्तिका हराएको विषय सामसुम पारेर पनिका गुपचुप जाँच गराई समस्या पन्छाउने कोसिसमा लागेको थियो । उत्तरपुस्तिका हराएको विषयमा हामीले पनिका प्रमुख पुष्पराज जोशीलाई सोध्यौं । उनले सुरूमा आफूलाई थाहा नभएको भन्दै कसले भन्यो ? भनी उल्टै सोधे । बुझेर खबर गर्ने बताएका उनले आज पुन: सम्पर्क गर्दा कपी हराएको स्वीकारेका छन् ।
‘हो मिस्डप्लेस भएछ भेटिएला । हामी खोज्दैछौं । के गर्ने भनेर सल्लाह हुँदैछ’, जोशीले नेपाल प्रेससँग भने ।
उनका अनुसार कँडेल नेतृत्वको छानबिन समितिले आज प्रतिवेदन बुझाउनेछ ।
पोहोर पनि हराएको थियो कपी
पनिकाले गत वर्ष झापाको दमक बहुमुखी क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका हराइदिएको थियो । चारवर्षे बीबीएसको चौथो वर्षको रिजल्ट निकाल्ने बेलामा उत्तरपुस्तिका नै हराएपनि पुन: परीक्षा लिइएको थियो ।
२०७८ पुस २७ गते लिइएको ‘बिज्नेस रिसर्च मेथड्स’ को उत्तरपुस्तिका हराएपछि २०७९ पुस २४ गते पुनः परीक्षा लिइएको थियो । एक वर्ष बित्दा पनि रिजल्ट नआएको भन्दै विद्यार्थीले आन्दोलनसमेत गरेका थिए । त्यतिखेर दमक क्याम्पसका विद्यार्थीको उत्तरपुस्तिका जाँच्नका लागि लैजाँदै गर्दा त्रिविकै एक शिक्षकले हराइदिएका हुन् । जाँच लिएको ५ दिनमै नतिजा सार्वजनिक गरिएको थियो ।
दमक बहुमुखी क्याम्पसलाई पुनः परीक्षा लिनुपर्नाको कारण खुलाइएको थिएन । यसअघि पनि पटकपटक उत्तरपुस्तिका हराउने, मिस्डप्लेस हुने भएपनि गल्ती गर्ने कारबाहीबाट उम्किरहेको गुनासो बढेको छ ।

Leave a Reply