काठमाडौं । छोराको आक्रमणमा परेका चक्रवर्ती कलेजका सञ्चालक देवेन्द्रबहादुर भण्डारीले आफूलाई छोरा निरजले ज्यान मार्ने नियतले रडले हानेको दाबी गरेका छन् ।
प्रहरी अनुसन्धानका क्रममा उनले आफूलाई देख्ने बित्तिकै छोराले आज नमारी छाड्दिन भनेर आक्रमण गरेको दाबी गरेका छन्।
प्रहरीमा यस्तो छ उनले गरेको कागज
मैले विगत २१ वर्ष देखी चक्रवर्ती हवि एजुकेसन एकेडेमी प्रा. ली. सञ्चालन गरी आएको छु, हाल उक्त प्रा.ली.का.जी.का.म.न.पा.वडा नं. १० बिजुली बजार स्थित सञ्चालनमा रहेको छ । प्रतिवादी नीरज भण्डारी मेरो छोरा नाताको मानिस रहेको र मिति २०६८ सालमा नीरज भण्डारीको आमा नरमाया भण्डारी समेतले मेरो विरुद्धमा अंश मुद्दा हालेपछि मिति २०७१ सालमा नीरज भण्डारी समेतले पाउने गरी फैसला भयो ।
मेरो नाममा भएको जग्गाहरू कलेज सञ्चालनको लागि बैंकमा धितो राखेको हुँदा उक्त जग्गाहरू बैंक बाट फुकुवा भए पश्च कार्यान्वयन हुन गरी फैसला भएको थियो ।
मेरो नाममा काठमाडौं महानगरपालिका ३२ तीनकुनेस्थित रहेको १२ आना जग्गामा बनेको ७ तले घर बैंकबाट फुकुवा गरी प्रतिवादी नीरज भण्डारी र निजको आमा नरमाया भण्डारी, दिदी अल्पना भण्डारी, श्वेता भण्डारी लाई बस भनी उक्त घर पुरै छाडिदिएको थिएँ ।
नीरज भण्डारी बेला बखतमा चक्रवर्ती हवि एजुकेसन एकेडेमीमा आई म पनि शेयर धनी हुँ म सञ्चालन हुन पाउनु पर्छ भनी धम्की दिने हुल हुज्जत गर्ने गर्दै आएको र मलाई हातपात समेत गर्ने गर्दथ्यो ।
पुस २३ गतेका दिन म मुटुको समस्या भई औषधी सेवन गरी घरैमा आराम गरिरहेको थिएँ । दिउसो करिब २ बजे तिर चक्रवर्ती हवि एजुकेसन एकेडेमी प्रा ली को कर्मचारी तथा विद्यार्थीहरु मेरो घरमा आई आज बिहान करिब साढे ८ बजेतिर नीरज भण्डारी ४०/५० जनाको समूह लिई आई कलेजमा जबरजस्ती प्रवेश गरी कलेज कब्जा गरी बसेका छन् नीरज भण्डारीले यस कलेजको नयाँ सञ्चालक हुँ, अब देखि म कलेज चलाउँछु यिनीहरू मेरो नयाँ कर्मचारी हो तपाईँहरु पुरानो कर्मचारी सबै अहिले गइहाल्नुहोस् भनी हामीलाई कलेज बाट निकालिदियो ।
नीरज भण्डारीसँग आएका व्यक्तिहरूले कलेजको परिचय पत्र बनाएर घाँटीमा झुन्ड्याएका छन्। सोही समूहमा रहेका गणेश बहादुर घिमिरेले म यस कलेजको नयाँ एम डी हुँ तिमीहरू कलेज छाडी गइहाल भनेकाले हामी कलेज बाट निस्किएर तपाईँलाई भेट्न आएका हौँ भनेपछि सो दिनको दिउँसोको परीक्षा समेत रोकिएको कुरा थाहा पाएँ ।
परीक्षाको फाराम भर्ने विद्यार्थीहरूले फाराम भर्न समेत नपाएको रहेछ, विद्यार्थीहरूले समेत फोन गरी हामीले पढ्न नपाउने भयौ तपाईँ कलेजमा आउनु पर्यो भनेकाले मैले प्रहरी वृत्त नयाँबानेश्वरमा फोन गरी नीरज भण्डारीले कलेज कब्जा गरी बसेको हुँदा निज समेतलाई कलेज बाट हटाई पठन पाठनमा सहयोग गरिदिनु हुन भनी अनुरोध गरेँ ।
करिब ३ बजे तिर म कलेजमा पुगेँ, प्रहरी टोली पनि कलेजमा पुगी गेट खोल्न लगाउँदा गेट नखोली भित्रै बसेकाले म प्रहरी वृत्त नयाँबानेश्वरमा गएँ ।
पुस २४ गते छलफल हुने कुरा भएपछि म घर फर्किएको थिएँ मलाई विभिन्न विद्यार्थी संगठनका विद्यार्थीहरुले फोन गरी परीक्षा फाराम भर्ने म्याद अन्तिम भई सक्यो हामीले फाराम भर्न पाएका छैनौ कलेजमा पुरानो कर्मचारी छैन नीरज भण्डारीले कलेज कब्जा गरी बसेको छ हाम्रो कुरा सुन्दैन हाम्रो भविष्यको जिम्मेवारी को हुने हामी विज्ञप्ति टाँस्छौ तपाईँ जसरी पनि आउनु पर्यो हामी तपाईँलाई लिन मोटर साइकल लिन पठाउँछौ भनेकाले प्रहरीमा जाँदा भोली छलफल हुने कुरा भएको छ आज पर्खिनु होस भन्दा हुँदैन तपाईँ जसरी पनि आउनु पर्छ भनी मोटर साइकल मलाई लिन पठाएकाले म नजाँदा विद्यार्थीहरुले कलेजको माहौल बिगार्न सक्ने भएकाले करिब राती १० बजे म कलेजमा पुग्दा कलेज बाहिर विद्यार्थीहरु भेला जम्मा भई बसिराखेको रहेछ कलेज भित्रको माहौल बुझ्नु पर्यो भनी म गेट बाट भित्र प्रवेश गर्दा नीरज भण्डारी गणेश बहादुर घिमिरे लगायत मैले नचिनेको ३०/४० जना गेट भित्र भेला जम्मा भई बसेको रहेछन् ।
निजहरूले मलाई देख्नासाथ नीरज भण्डारीले मेरो ज्यान मार्ने उद्देश्यले तँ सालालाई आज नमारी छाड्दिन भन्दै आल्मुनियमको ४ पाटे डन्डीले एक्कासि मेरो टाउको र निधारमा २ पटक प्रहार गयो उक्त प्रहार बाट म भुईँमा ढल्न पुगेँ ।
म भुईँमा ढलेको अवस्थामा नीरज भण्डारीले आल्मुनियमा डन्डीले र गणेश बहादुर घिमिरेले बेल्चाले टाउको तथा शरीरको विभिन्न भागमा प्रहार गर्यो । विद्यार्थीहरूले प्रहरी बोलाऊ भनेकोसम्म सुनेको थिएँ, सो पश्चात् म बेहोस भएछु। पछि मेरो होस आउँदा मलाई सिभिल अस्पतालमा लगी उपचार हुँदै गरेको थाहा पाएँ।
मलाई प्रहरीले उद्धार गरी उपचारको लागि लिई गएको रहेछ। म फेरी बेहोस भएछु। म होसमा आउँदा नर्भिक अस्पतालको एमआईसीयू भर्ना गरी उपचार भइरहेको रहेछ। मेरो टाउको निधार आँखा समेतमा चोट लागेको रहेछ।
टाउकोको हड्डी फुटेर गिदीमा असर पुगेको रहेछ। निधारको हड्डी फुटेको रहेछ। टाउको निधारमा प्लास्टिक सर्जरी गरिएको छ। दायाँ आँखा देख्न सक्दिन। आँखाको नानी सुनिएको, नानीमा पानी जमेका कारण नसामा असर परेकाले आँखा देख्न सक्दिन।

Leave a Reply