घनश्याम भुसालको दाबी- ओलीले गल्ती स्वीकार गरे अझै पनि वाम गठबन्धनकै सरकार

रुपन्देही । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गल्ती स्वीकार गरेर अगाडि बढे अहिले पनि वामगठबन्धनको सरकार रहनसक्ने बताएका छन् ।

माधव नेपालपक्षीय प्रेस चौतारीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा एमालेबाट निलम्वनमा परेका नेता भुसालले ओलीको अहंकारले पार्टीलाई गम्भीर क्षति पुगेपनि अहिलेसम्म त्यसलाई महशुस नगरेको आरोप लगाए ।

भुसालले पार्टी अध्यक्ष ओलीले आफ्ना पार्टीका व्यक्तिलाई धमाधम कारवाही गर्ने र फरक विचार राख्नेहरूसँग सहकार्य गर्न खोज्ने गरेबाट नै पार्टी एकता नखोजेको प्रष्ट हुने बताए ।
उनले भने, ‘महन्थ ठाकुरसँग ओलीजीको कहिले पनि सहकार्य थिएन, अहिले हामीभन्दा उहाँहरु नजिक रहेर मोर्चाबन्दी गरेको, बसउठ गरेको सुनिएको छ, देखिएको छ । यसले एमालेको एकता, वाम एकता बचाउन नसक्ने प्रष्ट पारेको छ ।’

भुसालले आफूहरूले समानान्तर कमिटी गठन गरेको नभई पूरानो कमिटी ब्युँताएको दावी गर्दै अहिलेसम्म ७० जिल्लामा कमिटी गठन भइसकेको बताए ।

पूर्वमन्त्रीसमेत रहेका नेता भुसालले केपी ओलीले भंग गरेको नेकपालाई अदालतले सदर मात्रै गरेको आरोप लगाए ।

नेता भुसालले भने, ‘फागुन २३ मा अदालतको फैसलाले एमाले बचाउने अवस्था थियो, ओलीलाई हटाएर सोही समूहको नेतृत्व दिएर सरकार अगाडि बढाउने सोच थियो तर एकाएक आफ्नै गुट बसेर निर्णय भएपछि त्यो विषय पनि बन्द भएको छ ।’

अहिलेको अवस्थामा माओवादी केन्द्रसँग पार्टी एकता हुन नसक्ने बताउँदै उनले भने, ‘पहिलो एमालेभित्रेको एकता, दोस्रो माओवादीसँगको सहकार्य अनि मात्र वामगठबन्धनलाई प्राथमिकतामा राखेका छौं ।’

Comments

One response to “घनश्याम भुसालको दाबी- ओलीले गल्ती स्वीकार गरे अझै पनि वाम गठबन्धनकै सरकार”

  1. Pushker Kadel Avatar
    Pushker Kadel

    आफै पार्टी विरोधी गतिविधि गर्ने अनि माफ़ चाहिं ओलीले माग्नु पर्ने कस्तो तर्क? यदि फागुन २३ को फ़ैसला नआएको भए माफी माझण्डहरूले माग्थ कि ओलीलाई रसातल पुर्याउने काम हुन्थ्यो? जवाफ कोसँग होला?

Leave a Reply

Your email address will not be published. Required fields are marked *