कैलालीमा सबैलाई मिलाएर लैजान एमाले अध्यक्ष ओलीको जिल्ला अध्यक्ष ढुङ्गानालाई सुझाव

कैलाली । नेकपा एमाले केन्द्रीय अध्यक्ष केपी शर्मा ओलीले कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानालाई पार्टीमा सबैलाई एकताबद्ध बनाएर लैजान सुझाव दिएका छन् ।

एमाले अध्यक्ष ओलीको निवास बालकोटमा उनले ढुङ्गानालाई पार्टी एक ढिक्का बनाएर लैजान सबैलाई समेट्नु पर्ने बताएका हुन् ।

नवौँ जिल्ला अधिवेशनबाट अध्यक्ष पदमा निर्वाचित ढुङ्गानालाई बधाई दिँदै अध्यक्ष ओलीले चुनावको तिक्तता मेट्न र सबैलाई समेट्न आग्रह गरेका थिए ।

उनले कैलालीमा यति गर्दा आगामी निर्वाचनमा एमालेको जितलाई कसैले पनि रोक्न नसक्ने जिकिर गरे । ‘मिसन ८४ सफल बनाउनु छ कैलालीमा सबैलाई समेटेर लैजानुहोला’ ओलीको भनाइ थियो ‘एमाले सबै मिलेर बलियो बनाउनु पर्छ ।तपाइ सबैलाई मिलाएर अगाडी बढ्नु होला ।’

कैलाली अध्यक्ष ढुङ्गानाले केन्द्रीय अध्यक्षको निर्देशन अनुसार पार्टी बलियो बनाएर लैजाने बताएका थिए । उनले सबैको सल्लाह सुझाव लिएर अगाडी बढ्ने प्रतिबद्धता जनाए ।

अध्यक्ष ओलीसँगको भेटमा जिल्ला अध्यक्ष ढुङ्गाना सहित एमाले पोलिटब्युरो सदस्य तथा कैलाली इन्चार्ज गणेश ठगुन्ना, प्रदेश कमिटी सदस्य तीर्थ भट्टराई पनि उपस्थित थिए ।

अध्यक्ष ओलीले कैलाली अध्यक्ष ढुङ्गानालाई कैलालीको अध्यक्षमा निर्वाचित भएको भन्दै बधाई दिँदै पेडा खुवाएका थिए । उनीहरू बिच करिब २० मिनेट संवाद भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *