शालिनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष, ‘सुसाइड नोट’मा के छ ?

चितवन । रत्ननगर नगरपालिका १० को एकता शिशु निकेतनको छात्राबासभित्र मृत भेटिएकी बालिका शालिन पोखरेलको बलात्कारपछि हत्या  भएको आरोप उनका परिवार तथा आफन्तले लगाइरहँदा प्रहरीको अनुसन्धानले भने आत्महत्याकै संकेत गरेको छ । उनी कोठाभित्र झुन्डिएको अवस्थामा फेला परेकी थिइन् ।

जिल्ला प्रहरी कार्यालय चितवनले घटना भएको तेस्रो दिन आफन्तले दिएको किटानी जाहेरी दर्तापछि गरेको अनुसन्धानका क्रममा आत्महत्या नै हुनसक्ने निष्कर्ष नजिक प्रहरी पुगेको हो । यद्यपि किटानी जाहेरी परेका आधारमा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र छात्राबास वार्डेन पक्राउ परेका छन् ।

चितवन प्रहरीले शालिनको शवसँगै सुसाइड नोट पनि बरामद गरेको थियो । सुसाइड नोटमा लेखिएको छ, ‘एभ्रीबडी आइएम सरी, अहिलेसम्म मैले जति गल्ती गरेँ । मम्मीबाबालाई सम्झिएको छ भनिदिनु ….’

प्रहरीले सुसाइड नोटसँग उनले यसअघि लेखेका नोट कपीहरुका अक्षर दाँज्दा अक्षर मिलेको पनि बताएको छ । यद्यपि परीक्षणको लागि पनि पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीले बताए ।

प्रहरीले विद्यालयकै सीसी क्यामराको फुटेज पनि हेरिसकेको छ । सीसी क्यामराको फुटेजमा पनि उनी एक्लै छात्राबासको कोठामा छिरेको देखिएको घटनामा संलग्न प्रहरी अधिकृत बताउँछन् ।

घटनाको दिन बिहान के भएको थियो ?

१४ वर्षीया शालिन गत शनिबार बिहान करिब १० बजेको समयमा मृत अवस्थामा भेटिएकी हुन् । स्काउटको डोरीले झुण्डिएको अवस्थामा उनी भेटिएकी प्रहरीको भनाइ छ ।

दुई वर्षअघि उक्त विद्यालय भर्ना भएकी शालिनसँगै छात्राबासको एउटै कोठामा बस्ने तीन साथी थिए । उनी मृत भेटिनुअघिको एउटा घटना प्रहरीसँग उनका दुई साथीले बताएका छन् ।

ती दुई साथीका अनुसार छात्राबासको कोठा एउटै भए पनि उनीहरु तीन जनाको आआफ्नो सामान राख्ने बेग्लाबेग्लै बाकस रहेको थियो । उनीहरु तीनै जनाले खाना खानुअघि बिहान करेन्ट चाउचाउ खाने सल्लाह गरे । जुन साथीले चाउचाउ खाउँ भनेकी थिइन्, उनको बाकसबाट चाउचाउ निकाल्न खोज्दा नभेटिएपछि कता छ भन्ने खोजी भयो ।

साथीको बाकसमा चाउचाउ नभेटिएपछि उनले सोही छात्राबासमा बस्ने आफ्नो भाइलाई पनि सोधिन् । भाइले लगेको छैन भनेर सबैको बाकस खोजी गर्दा शालिनको बाकसमा भेटिएको बयान उनीहरुले प्रहरीलाई दिएका छन् ।

त्यसपछि सबैको सल्लाहमा यो कुरा शिक्षकलाई पनि नभन्ने सहमति गरी तीनै जना खाना खान तेस्रो तल्लामा रहेको छात्राबासको कोठाबाट ओर्लिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।

तर, दुई जना चौरतिर जाँदा शालिन खाना नखाई कोठामै फर्किइन् । त्यसपछि ढोका खुलेन । होस्टल वार्डेनलाई उनीहरुले खबर गरे । त्यसपछि ढोका फोर्दा झुण्डिएको अवस्थामा भेटिएको उनीहरुले प्रहरीलाई बताएका छन् ।

घटना भएको थाहा पाएपछि पुगेको प्रहरीले पनि कोठा बाहिरबाट फोडिएको अवस्थामा भेटिएको जानकारी दिएको छ ।

स्वास्थ्य परीक्षण प्रतिवेदन कुर्दै प्रहरी

मृत्युको प्रारम्भिक अनुसन्धानमा हत्याको प्रमाण नभेटिएपछि यौनजन्य दुर्व्यवहार वा बलात्कार भए नभएकोबारे पनि प्रहरीले अनुसन्धान गरेकोछ । यौनजन्य दुव्र्यवहारबारे स्वास्थ्य परीक्षण प्रतिवेदनपछि मात्रै भन्न सकिने प्रहरी अधिकारी बताउँछन् ।

‘फरेन्सिक रिपोर्टको प्रतिवेदनपछि मात्रै हामीले यस विषयमा भन्न सक्छौँ’, अनुसन्धानमा संलग्न प्रहरी अधिकारी भन्छन्, ‘आइतबार, सोमबारतिर प्रतिवेदन आएपछि थप अनुसन्धान परिपक्व होला ।’

दश वर्षअघि शालिनका बाबुआमाको सम्बन्ध बिच्छेद भएको थियो

शालिनको काका महेश पोखरेलका अनुसार बाबुआमाको भने १० वर्ष अघि नै सम्बन्धबिच्छेद भएको हो । शालिनको बुबाआमा पहिलेदेखि नै विदेश बस्दै आएका र सम्बन्ध बिच्छेदपछि पनि उनीहरु दुबैजनाले विदेशमा अर्को विवाह गरेर बसेका छन् । उनका बुबा दीपेन्द्र दक्षिण अफ्रिकामा बस्छन् भने आमा सगुन दुबइमा बस्दै आएका छन् ।

बाबुआमा बाहिर रहँदा दुई वर्ष आफूसँग राखेपनि दुई वर्षअघि मामाघरको हजुरआमाले आफूसँग राख्छु भनेपछि शालिनलाई चितवन पठाएको उनले बताए ।

पछिल्लो दसैँ र तिहार मनाउन भने शालिन काठमाडौँ बुबासहित परिवारसँग गएको उनको भनाइ छ । तर, त्यतिबेला छोरीमा पारिवारिक रुपमा कुनै मानसिक दबाब जस्तो आफूले महसुस नगरेको पोखरेलले बताए ।

परिवारिक रुपमा त होइन तर मैले छोरी अब दुई वर्षपछि तिमी के पढ्ने भन्दा उनले होस्टल वार्डेन बन्छु अंकल भनेकी थिइन्’, पोखरेलले भने – मैले किन त्यसो भनेको भन्दा वार्डेनले त सबैलाई थर्काउन पाउँछन् नि भनिन् । उनका अनुसार गत पुस २२ गतेपनि शालिनलाई बुबा दीपेन्द्रले भेटेका थिए ।

काका पोखरेलले छात्राहरु बस्ने होस्टलमा पुरुष वार्डेन राखिएकोप्रति पनि प्रश्न उठाए । कानूनले नै छात्राको होस्टलमा महिला वार्डेन राख्नुपर्ने व्यवस्था हुँदाहुँदै विद्यालयले छात्राको होस्टलमा समेत पुरुष वार्डेन राखेर गल्ती गरेको समेत उनको भनाइ थियो ।

Comments

2 responses to “शालिनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष, ‘सुसाइड नोट’मा के छ ?”

  1. अयाेध्या पाठक Avatar
    अयाेध्या पाठक

    वार्डेनले याे घटनाकाेसबै जिम्मालिनु पर्छ ।असक्षम वाे्डेन र शिक्षक हुनु दुखद कुरा हाे ।नानिबाबुहरुकाे मानसिकता परिपक्क नहुने, हर्मनहरु बढेकाेले असन्तुलित व्यवहार हुने , पढाइकाे चाप र साथिहरु पनि सबै चनचले हुने र नजिककाे निगरानि शिक्षक हरुकाे अभिभाबकले लिनै पर्छ धेरै नजिकबाट नियालिरहनु पर्छ ।बिक्रिति पनि चरम बढेकाेले याे घटना नघटाएकाे भन्न सकिन्न ।

  2. deben kishor anjana Avatar
    deben kishor anjana

    छोरि भएर जन्मनु अभिश्राप भो आमा
    मरेको सिनु लुछ्ने गिद्धहरुको हावी भो आमा
    बलत्कार गर्दै मारे मलाई
    आफै मरेको भनी दावी भो आमा
    कस्तो हो हामी छोरिको कर्म आमा
    खुकुरी मुनिको अच्चानाको मर्म आमा
    न्याय देउ मालाई छाडा तंन्त्रको उपजमा
    अझै कति पिल्सिएर मर्नु पर्ने हो आमा यो देशमा
    😭😭😭😭😭😭😭😭😭
    Deben kishor anjan

Leave a Reply

Your email address will not be published. Required fields are marked *