एमाले बर्दियाको दशौं अधिवेशनको मिति तय

रुपन्देही । नेकपा एमाले बर्दियाको जिल्ला अधिवेशन आगामी वैशाख १४ गतेदेखि सुरु हुने भएको छ । नेकपा एमाले जिल्ला कमिटी बर्दियाको नवौँ बैठकले वैशाख १४, १५ र १६ गते अधिवेशन गर्ने निर्णय गरेको हो ।

जिल्ला कमिटीको नबौं बैठकअघि बसेको सचिवालय बैठकले अधिवेशनको मिति तय गर्दै पूर्ण बैठकमा प्रस्ताव पेश गरेको थियो । पार्टीका पोलिटब्यूरो सदस्य तथा बर्दिया इन्चार्ज लिला गिरीको प्रमुख आतिथ्यमा बसेको सचिवालय र पूर्ण बैठकले अधिवेशनको मिति तय गर्नुका साथै विभिन्न निर्णय गरेको नेकपा एमाले बर्दियाका प्रचार विभाग प्रमुख धर्मराज थापाले जानकारी दिए ।

बैठकले वैशाख ३ गते जिल्लाभर प्रतिनिधि छनौट गर्ने भएको छ । प्रतिनिधि छनौट र व्यवस्थापनका काम पूरा गर्दै वैशाख १४ गतेदेखि अधिवेशन सुरु हुने प्रचार विभाग प्रमुख थापाको भनाइ छ । अधिवेशनमा पार्टी संगठित सदस्यहरुबाट प्रतिनिधि छनौट गरिने र सम्भवतः ८ सयभन्दा धेरै प्रतिनिधि चयन हुने थापाले बताए ।

बैठकले अधिवेशनको तयारीका लागि विभिन्न समिति र उपसमिति बनाएको छ । अधिवेशनको प्रतिनिधि छनौटको मापदण्ड र क्षेत्रको निर्णय गरिएको छ । अध्यक्ष लालबहादुर श्रेष्ठले पार्टीले हरेक पालिकादेखि नै राजनीतिक प्रतिवेदन तयार गर्ने बताए । अधिवेशनलाई भव्य सभ्य र पद्धतिअनुसार सञ्चालनका लागि तोकिएको जिम्मेवारी र दायित्व सबैले बहन गर्न आग्रह गरे ।

बैठकलाई सम्बोधन गर्दै एमाले पोलिटब्यूरो सदस्य एवं बर्दिया जिल्ला इन्चार्ज लिला गिरीले सबै जना दशाैं जिल्ला अधिवेशनको तयारीमा लाग्नुपर्ने बताए । पार्टीको विधान, नीति र कार्यदिशा बमोजिम स्वच्छ, स्वस्थ र व्यवस्थित अधिवेशन सम्पन्न गर्नेगरी तयारीमा जुट्न इन्चार्ज गिरीले सबैलाई आग्रह गरे ।

अधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि सबैले आआफ्नो जिम्मेवारी पूरा गर्नका लागि उनले निर्देशन दिएका छन् । उनले अधिवेशनलाई सकेसम्म पारदर्शी तरिकाले निष्पक्ष रुपमा सहमतिको आधारमा निर्विरोध रुपमा नेतृत्व छनौट गर्ने, यदि कार्यकर्ताको माझमा जाऔँ भन्ने भयो भने हातेमालो गरेर स्वच्छ प्रतिस्पर्धामा अधिवेशन सम्पन्न गर्ने बताए ।

नेता गिरीले यथास्थितिवादी, प्रतिक्रियावादी र मुलुकको स्थिरता नचाहने तत्वले अनेक बहानामा नेकपा एमालेका विरुद्ध घेराबन्दी गरिरहेको र अस्थिरता मच्याउने कोसिस गरिरहेको उल्लेख गरे । उनले भने, ‘एमालेलाई कमजोर नबनाइ मुलुकलाई कमजोर बनाउन सकिँदैन भन्दै अनेक तत्व लागेको छ र जसरीपनि भाँडभैलो निम्त्याएर भएपनि एमालेलाई घेराबन्दी गर्नुपर्नेछ भनेर देशीविदेशी तत्व लागेको छ ।’

बैठकमा एमाले प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, केन्द्रीय सदस्यहरु लक्ष्मण ज्ञवाली, शोभा ज्ञवाली, भिम केसी, खड्कबहादुर खड्का, नेकपा एमाले निर्वाचन आयोगका सदस्य विमला विक, केन्द्रीय लेखा आयोगका सदस्य विजया खनाल, प्रदेश कमिटी सहसचिव लिला राना, जिल्ला उपाध्यक्ष शालिकराम अधिकारी, सचिव पदम ढकाललगायतले धारणा राखेका थिए ।

अधिवेशनो उद्घाटन शत्रमा पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख अतिथिका रुपमा निमन्त्रण गर्ने तयारी रहेको अध्यक्ष श्रेष्ठले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *