आजदेखि लुम्बिनीको हिउँदे अधिवेशन, शनिबार प्रधानमन्त्री आउने भएसँगै थालियो तयारी

रुपन्देही । आज (शुक्रबार)देखि लुम्बिनी प्रदेशको हिउँदे अघिवेशनको पहिलो बैठक बस्न लागेको छ । दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन शुक्रबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा सचिव दुर्लभकुमार पुन मगरले बताए ।

शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदेश सभालाई सम्बोधन गर्ने तय भएसँगै शुक्रबार यसअघि बनाइएका संभावित कार्यसूचि फेरिने भएका छन् । शुक्रबारको बैठकमा हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रदेश प्रमुखले अधिवेशन आह्वान सम्बन्धि पठाएको पत्र पढेर सुनाउने, मन्त्रिरिषद्‌मा कार्यविभाजन हेरफेर सम्बन्धी पत्रसमेत पढेर सुनाउने, दोस्रो अधिवेशनबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका विधेयकहरुको बारेमा सभामा जानकारी गराउने, विभिन्न संसदीय दलको तर्फबाट तेस्रो अधिवेशनको सफलताको शुभकामना दिने सम्भावित कार्यसूची रहेको मगरले बताए।

सरकारले हिउँदे अधिवेशनमा स्थानीय तहको निजामती कर्मचारी विधेयकलगायत ४ वटा विधेयक दर्ताको तयारी गरेको छ। लुम्बिनी प्रदेशसभाको बैठक गत भदौ २६ देखि बस्न सकेको थिएन। लामो समयपछि प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक बस्न लागेको हो।

प्रदेशसभाको बैठक बस्न नसक्दा प्रदेश सभा सदस्यहरु कामविहीन बनेका थिए। दुई वटा अधिवेशनमा ३५ वटा बैठक सम्पन्न भएका थिए। ५७ घण्टा ३३ मिनेट छलफल हुँदा प्रदेशसभाले मूल विधेयक एउटा, साल बसाली विधेयक दुई वटा, संशोधन विधेयक एक गरी जम्मा चार वटा विधेयक पारित भएको थियो।

प्रदेश सभाले अहिलेसम्म विषयगत समितिका सभापतिको टुंगो नलगाएको भन्दै आलोचना भएको छ । विषयगत समिति सदस्यहरुको टुंगो लागेपनि सत्तारुढ दलमा सभापतिको भागवण्डा मिल्न नसक्दा रोकिएको छ । प्रदेश सभा सचिव पुनले शनिबार प्रधानमन्त्रीले सम्बोधन गर्ने तयारी भएको बताए । ‘प्रधानमन्त्रीले १९ गते २ बजे सम्बोधन गर्ने तालिका बनेको छ, हामीले आन्तरिक तयारी सबै गरेका छौं’ उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *