विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचानवादीहरूले विभिन्न स्थानमा विरोध प्रदर्शन गरेका छन् । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा काठमाडौंको तीनकुनेमा अहिले विरोध प्रदर्शन भइरहेको छ ।
प्रदर्शनमा आदिवासी जनजाति महासंघमा आवद्ध जातीय संस्थाहरुले सहभागिता जनाएका छन् । यस्तै कोशी प्रदेशका १४ वटै जिल्लामा पनि कोशी नाम खारेजीको माग राख्दै विरोध प्रदर्शन भइरहेको छ ।
प्रदेशसभाले एक वर्षअघि आजकै दिन प्रदेशको नाम कोशी राखेको थियो । प्रदेशको नाम कोशी राखेको दिनलाई पहिचानवादीहरूले कालो दिनको रूपमा विरोध जनाएको किराँत याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्वापोले बताइन् ।
उनका अनुसार प्रदर्शनमा आदिवासी जनजाति महासंघमा आबद्ध सबै जातीय संस्थाको सहभागिता रहेको छ । प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिले प्रदेशको नामक कोशी राखेको दिनलाई कालो दिनको रूपमा फागुन १७ लाई लिएको बताइन् । उनले कोशी नाम खारेजीको माग राख्दै सङ्घीय राजधानीलगायत कोशी प्रदेशका सबै जिल्लामा प्रदर्शन भइरहेको बताइन् ।
प्रदेशसभामा रहेका एमाले, माओवादी, कांग्रेस र राप्रपाका सांसदहरुले कोशी नामको पक्षमा मतदान गरेका थिए ।
९३ सदस्यीय प्रदेशसभामा कोशीको विपक्षमा जसपा र एकीकृत समाजवादीका सांसदहरूले विपक्षमा मतदान गरेका थिए । एकीकृत समाजवादीका संसदीय दलका नेता राजेन्द्र राईले प्रदेशसभामा छुट्टै नाम प्रस्ताव गरेका थिए । तर, उनको प्रस्ताव प्रदेशसभाले अस्वीकृत गरेको थियो ।
संवैधानिक प्रक्रिया पुर्याउँदै कोशी नाम राखिएपछि पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन् । आन्दोलनका क्रममा एक जनाको ज्यान गइसकेको छ । प्रदर्शनका क्रममा घाइते भएका पदम लिम्बू लाजेङको मृत्यु भएपछि सरकारले शहीद घोषणा गरेको छ ।
आन्दोलनपछि कोशी प्रदेश सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिबीच वार्ता चलिरहेको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले पहिचानवादीहरूसँग वार्ता गर्न भौतिक पूर्वाधार विकासमन्त्री कमल जवेगूको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ । संयुक्त सङ्घर्ष समितिले पनि वार्ता टोली गठन गरेको छ ।

Leave a Reply