भजन शिरोमणि भक्तराज आचार्य ८१ वर्षको उमेरमा दिवंगत भए २०८०, फागुन १४ मा । २०४६ साल मंसिर १९ गते बौद्धको ‘छिरिङ रेस्टुरेन्ट’ मा संघातिक हमलामा परेपछि उनको जादुमयी स्वर सदाको लागि गयो । झनै २०५० सालमा क्यान्सरका कारण जिब्रो नै काटेर फाल्नु परेपछि उनी आवाजविहीन नै बने ।
२०३० सालदेखि २०४६ सालसम्मको १६ वर्षको अन्तरालमा भक्तराजले करिब चार सय ५० गीत गाएका छन् । यसमा आधुनिक, भजन, राष्ट्रिय, बाल गीतलगायत विधा समेटिएका छन् ।
गीतका शब्दहरूलाई प्रष्टसँग उच्चारण गरेर गाउन सक्ने क्षमता भएका यी मूर्धन्य गायक तथा संगीतकारका दर्जनौं कालजयी गीतहरू छन् । सूर र तालमा राम्रो पकड राख्ने भक्तराज तत्सम् र तद्भव शब्दहरूको उच्चारण यति राम्रोसँग गर्थे कि नारायण गोपाल नै भक्तराजको प्रशंसक रहेको उनका समकालीन संगीतकारहरू बताउँछन् ।
‘हजार सपनाहरूको माया लागेर आउँछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘हजार आँखा हेर्ने मेरी मायालुलाई’, ‘मुटु जलिरहेछ’, ‘जीवन भनुँ त घात छ’, ‘जहाँ छन् बुद्धका आँखा’ लगायत दर्जनौं कालजयी गीतहरू छन् भक्तराजका ।
०००
जहाँ छन् बुद्धका आँखा स्निग्ध, शान्त र सुन्दर
त्यहाँ छ शान्तिको क्षेत्र मेरो राष्ट्र मनोहर
प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता
छल्किन्छ ममता मेरो भावगंगा जता जता
गीतकार डा. बमबहादुर थापा जितालीले लेखेको यो गीतमा भक्तराज आचार्यले संगीत र स्वर भरेका छन् । रोचक प्रसंग त के भने यो गीत तयार भएर रेडियोमा बजेको दुई वर्षपछि मात्रै भक्तराज र बमबहादुरबीच चिनजान भएको थियो । त्यो पनि अस्पतालको आईसीयूमा ।
२०४४ सालको कुरा हो । बमबहादुरले अनुष्टुप छन्दमा एक कविता लेखेका थिए । शीर्षक थियो ‘सिपाही संकल्प’ ! २०४४ सालको ‘सिपाही’ पत्रिकामा यो कविता छापिएको थियो ।
वर्षभरि छापिएका रचनामध्ये सर्वोत्कृष्ट रचनालाई ‘सिपाही’ मासिकले पुरस्कृत गर्थ्यो । त्यस वर्ष कविताहरूको मूल्यांकनकर्ता थिए श्यामदास वैष्णव । बमबहादुर भने राष्ट्रिय कम्प्युटर केन्द्रमा जागिरे थिए । श्यामदासले बमबहादुरको कवितालाई सर्वोत्कृष्ट भनेर सिफारिस गरिदिएछन् ।
बमबहादुर त्यसबेलाको प्रसंग सुनाउँछन्, ‘उहाँले मेरो कवितालाई सर्वोत्कृष्ट बनाउनुभएको रहेछ । तर, आर्मीको जर्नेललाई सर्वोत्कृष्ट गरिएछ । मलाई दोस्रो बनाउँदा कमजोरलाई बनाइयो भनेर थाहा पाउने भएकाले मलाई त आउट नै गरेछन् । किनभने आर्मीहरूले पुरस्कार जितेपछि उनीहरूको ग्रेड थप हुने वा प्रमोसन हुने लगायत फाइदा हुँदो रहेछ । यसपछि उहाँले रचनामा अन्याय गरिनु हुँदैन भनेर आर्मीलाई भन्नुभयो ।’
तर, पुरस्कृत गरिसकिएको थियो । पुरस्कार फिर्ता लिने कुरा भएन । श्यामदासले बमबहादुरलाई रेडियो नेपालमा लिएर गए र अर्को प्रस्ताव राखे, ‘यो रेकर्ड गर्नुपर्छ बुझ्नुभयो ? राम्रो सृजना आउट गरेको राम्रो होइन । म यो गीत रेकर्ड गरेर देखाउँछु ।’
अनि बमबहादुरले रेडियो नेपालकै कौसीमा बसेर तीन श्लोक छनोट गरेर श्यामदासलाई दिए । स्थायी र अन्तरा पनि बनाइदिए त्यही कविताबाट । यसपछि श्यामदासले बमबहादुरलाई रेडियो नेपालमा लिएर गए ।
बमबहादुर सम्झन्छन्, ‘उहाँले सरासर नीर शाहको कोठामा लिएर जानुभयो । नीर शाहलाई यस्तो रचना रेकर्ड गर्नुपर्यो भनेर भन्नुभयो । अनि नीर शाहले चाहिँ गीतको शिरदेखि पुछारसम्म पढ्नुभयो । अनि भन्नुभयो, ‘वाफ रे ! गीत त यस्तो पो हुनुपर्छ, अरुले नगरे म मेरो पकेटको पैसाले रेकर्ड गराउँछु ।’
यसपछि गीत छाडेर बमबहादुर फर्किए ।
एक महिनापछि उनले सूचना पाए, ‘गीत रेकर्ड भयो ।’ उनको गीत रेडियो नेपाल, नेपाल टेलिभिन र रत्न रेकर्डिङले संयुक्त रूपमा रेकर्ड गरेका थिए । साथै उनलाई ‘पारिश्रमिक लिन आउनू, गीत पनि सुन्नू’ भनेर पनि सूचना दिइएको थियो ।
रेडियो नेपालमा गएर उनले गीत सुने । बमबहादुर प्रफुल्लित सुनिन्छन्, ‘गीत सुन्दा यति आनन्द आयो कि, आहा ! किनभने यो मेरो पहिलो गीत थियो । संगीत र स्वर भक्तराज आचार्यको थियो ।’
यसपछि बमबहादुर तीन सय रूपैयाँ पारिश्रमिक लिएर फर्किए । पछि एकैपटक उनले समाचार सुने, बौद्धमा भक्तराजमाथि हमला भयो । उनी वीर अस्पतालको आईसीयूमा छन् ।
बमबहादुर भन्छन्, ‘बेहोसीबाट होसमा आउनसाथ उनले साला र श्रीमतीलाई ‘बुद्धका आँखा’ गीत लेख्ने को हो ? म भेट्न चाहन्छु ।’
संयोग कस्तो भने भक्तराजका साला रमेश पाण्डे पनि राष्ट्रिय कम्प्युटर केन्द्रमा काम गर्ने गर्थे । तर, भक्तराजकै साला भनेर बमबहादुरसँग चिनजान थिए । रमेशले बमबहादुरलाई भने, ‘भिनाजुले भेट्न चाहनुभएको छ । भेट्न जानू ।’
बमबहादुर सम्झन्छन्, ‘म गएपछि उहाँलाई ‘जहाँ छन् बुद्धका आँखा’ लेख्ने उहाँ नै भनेर आफन्तहरूले भन्दा मलाई अंगालो हालेर भन्नुभएको थियो, तिम्रो गीत देख्नेबित्तिकै पहिचान गरेको थिएँ ।’
बमबहादुरका अनुसार श्यामदासलाई स्थायी र अन्तरा छुट्याएर दिएपछि श्यामदासले आफ्नो गीत सहित भक्तराजलाई दिएछन् । भक्तराजले बमबहादुरका गीत कम्पोज गरेका रहेछन् ।
०००
जति चोट दिन्छौ देऊ मायालु मुटुभित्र साँचेर राख्नेछु
जति आँसु दिन्छौ देऊ मायालु, दुई आँखाबाट झार्नेछु
गीतकार सुवासचन्द्र ढुंगेल महाराजगन्जमा प्रवीणताप्रमाणपत्र पढ्दै थिए २०३६/३७ सालतिर । यही बेला उनले लेखेको गीत हो यो । यो गीत २०३८ सालमा भक्तराज आचार्यले संगीत भरेर स्वर दिएका थिए ।
सुवासचन्द्र बाल्यकालदेखि नै रेडियो नेपाल आउने जाने गर्थे । वासुदेव मुनालको कार्यक्रममा सहभागिता जनाउँथे । त्यसैले पनि रेडियो नेपालसँग परिचित थिए । किशोर कालमा प्रवेश गरेपछि भने भक्तराजले गाएको यो कालजयी गीत लेखे- ‘जति चोट दिन्छौ देऊ मायालु ।’
सुवासचन्द्र सुनाउँछन्, ‘त्यसबेला म अलि सेन्टिमेन्टल गितीकथा लेख्थेँ । मलाई भावनात्मक गीतहरू लेख्न मन पर्थ्यो । त्यस्तै परिस्थितिमा पनि थिएँ । आफूलाई मन परेको कुरा भित्रैदेखि लेख्न सक्ने उर्वर समय पनि थियो । अहिलेकाले माया प्रेमलाई हल्काफुल्का लिन्छन् । तर, फूल कहिल्यै पुरानो हुँदैन भनेजस्तो एउटा अवस्थालाई चित्रण गरेको कुरा कहिल्यै पुरानो हुँदैन ।’
सुवासचन्द्र ढुंगेल भक्तराजको गायकीको प्रशंसक थिए । तर, चिनजान भने थिएन ।
उनका साथी विदुर खड्का रेडियो नेपालमा काम गर्थे । ललितपुरको महालक्ष्मीस्थानमा भक्तराजको छिमेकी पनि थिए । अनि एक दिन विदुरको पछि लागेर सुवासचन्द्र भक्तराजको घर गए २०३७/३८ सालतिर । आफूले लेखेको गीत देखाए ।
सुवासचन्द्र सुनाउँछन्, ‘तीन अन्तराको गीत थियो । तर, उहाँले पाँच मिनेटभन्दा लामो हुन्छ भनेपछि दुई अन्तरामात्रै गाएको हो ।’
गीत तयार भयो, सबैले रुचाए । भक्तराज त यसै चर्चित थिए । सुवासचन्द्रलाई पनि चर्चित बनायो । उनको यो तेस्रो गीत थियो । तेस्रो गीत नै चर्चित बनेपछि उनलाई गीत लेखाउनेहरूकै लर्को लागेको थियो । त्यसवेला रेडियो नेपालमै दिनको चार पाँच पटक यो गीत बज्थ्यो ।
पछि भक्तराजसँग सुवासचन्द्रले अर्को तथा अन्तिम गीत गरे,-
तिम्रो मनमा मिलनको फूल फुल्दा
मेरो मनमा विछोडको खडेरी परेछ
०००
जीवन भनुँ त घात छ
मृत्यु भनुँ त सास छ
दोधारमा बाँचु कति ?
हर गीतमा चित्कार छ
२०३८ सालदेखि चिनजान भएका गीतकार तथा कवि दिनेश अधिकारी र भक्तराज आचार्यबीच केही समयदेखि गीत गर्ने कुराकानी भइरहेको थियो । यो समयमा दिनेश नेपाल ल क्याम्पस पढ्ने गर्थे । २०३९ सालदेखि नै गीत लेख्न सुरू गरेको दिनेशको दोस्रो गीत ‘तिमी यसै लजायौ, म यसै धकाएँ’ चर्चित बनिसकेको थियो । गीतकारको रूपमा दिनेश पनि प्रख्यात बनिसकेका थिए ।
भक्तराज-दिनेशले पटकपटक सहकार्य गर्ने योजना बनाए पनि सफल हुन सकिरहेको थिएन । २०४१ सालको बिदामा दिनेश काठमाडौं आए । किनभने यसबेला उनी सरकारी जागिरे भइसकेका थिए । काठमाडौं आएको बेला ‘एउटा गीत चाहियो, गरौं’ भन्ने कुरा भयो । दिनेश बैतडी फर्किए ।
दिनेश बैतडी फिरे । उतैबाट हुलाकमार्फत् गीत पठाए,- जीव भनुँ त घात छ ।
२०४२ सालमा रामराजाप्रसाद सिंह लगायतले बम बिस्फोट गराएको घटनाका कारण रेडियो नेपाल डिस्टर्ब भएको थियो । अनि भक्तराजले दिनेशलाई चिठीमै जवाफ पठाए, ‘मलाई गीत मन पर्यो । रेडियोमा डिस्टर्ब भइरहेको अवस्था छ । अहिले क्युमा बस्नुपर्ला ।’
तर, चिठीमा भनिएजस्तो गीत रेकर्ड हुन ढिला भएन । रेडियोमा गुन्जन पो थाल्यो ।
दिनेश यो गीत लेख्नुको कारण सुनाउँछन्, ‘यो गीत एक खालको सोचमा गएर लेखेको हुँ । एक किसिमको फ्रस्टेसन छ । तर, जीवनसँग भागेर कतै जान पनि सकिँदैन । जीवनमा सन्तुष्टि पनि छैन । यो दोसाँधमा रहँदा लेखिएको गीत हो यो ।’
२०४६ सालको दुर्घटना भइसकेपछि रेडियो नेपालका धेरै कार्यक्रमहरूमा दुर्घटनाको कुरा गर्थे, अनि यही गीत बजाउँथे, ‘जीवन भनुँ त घात छ ।’
दिनेश भन्छन्, ‘भक्तराज दाइको त्यो दुर्घटना सम्झेर यो गीत सुन्दा म आफैं धेरैपटक रोएको छु । पछि भक्तराज दाइले पनि एक संस्मरणमा यो गीतको प्रसंग निकालेर मेरो भविष्य पहिल्यै देखिएको रहेछ, मेरो जीवनकै सबैभन्दा नजिकको गीत यही हो भनेर भन्नुभएको थियो ।’
दिनेश र भक्तराजले सहकार्य गरेको यही नै पहिलो र अन्तिम गीत हो ।
०००

Leave a Reply