लफ्टी इटोनको हिटिङमा नेपाल घाइते, पायो २०७ रनको लक्ष्य

काठमाडौं। त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत त्रिवि क्रिकेट मैदानमा अहिले भइरहेको खेलमा नामिबियाले नेपाललाई २०७ रनको लक्ष्य दिएको छ।

टस जितेर ब्याटिङ गरेको नामिबियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २ सय ६ रन जोड्यो। नामिबियाका जान निकोल लफ्टी इटोनले एक सय १ रन जोडे। उनले ३६ बलमा ८ छक्का र ११ चौका प्रहार गरेका थिए।

मलान क्रुगर ५९ रनमा अविजित रहे। लफ्टी इटोन र क्रुगरबीच चौथो विकेटका लागि एक सय ४८ रनको साझेदारी भएको थियो।

सुरुको १० ओभरमा केवल ६० रन जोडेको नामिबियाले अन्तिम १० ओभरमा एक सय ४६ रन जोडेको थियो।

लफ्टी इटोन टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा शतक पुरा गर्ने विश्व कीर्तिमान बनाउन सफल भएका छन्। उनले केवल ३३ बलमा शतक पुरा गर्दै नेपालका कुशल मल्लको नाममा रहेको कीर्तिमान तोडेका हुन्। शतक पुरा गर्नेक्रममा उनले ८ छक्का र ११ चौका प्रहार गरेका थिए।

नेपालका कुशलले गत सेप्टेम्बर २७ तारिखमा मंगोलियाविरुद्ध उक्त सफलता प्राप्त गरेका थिए। करिब ५ महिनामै मल्लको कीर्तिमान तोडिएको हो।

नेपालका करन केसीले ३ ओभरमा ३२, सोमपाल कामीले ३ ओभरमा ३४, दीपेन्द्रसिंह ऐरीले ४ ओभरमा ३२, रोहित पौडेलले ४ ओभरमा ३०, अविनाश बोहराले चार ओभरमा ४९ र गुल्सन झाले एक ओभरमा १८ रन खर्चिएका थिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *