काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चाले गरेको निर्णय कार्यान्वयनमा लाग्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन् ।
सोमबार बुद्धनगरस्थित नेकपाको कार्यालयमा उपलब्ध केन्द्रीय सदस्यहरुसँगको छलफलमा उनले मोर्चाको कार्यक्रम इमानादारीपूर्वक लागू गर्न निर्देशन दिएका हुन् ।
चार दल सम्मिलित मोर्चाको संयोजक अहिले विप्लव छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र आफूले नेतृत्व गरेको नेकपा सम्मिलित मोर्चाको जिम्मेवारी आफूले सम्हालेपछि सक्रिय बनाउनेतर्फ विप्लव लागेका छन् ।
उनले पार्टीका नेताहरुलाई आफ्नो नेतृत्वमा देशैभर मोर्चाको बारेमा प्रचारप्रसार गर्ने, काठमाडौंमा बुद्धिजीवी, वामपन्थी र व्यवसायीसहितको अन्तरक्रिया गर्ने, नेकपा मशालसहित वामपन्थी शक्तिलाई मोर्चामा सहकार्य गराउन पत्राचार गर्ने निर्णय भएको जानकारी गराए ।
उनले समाजवादी मोर्चालाई कमजोर र असफल पार्न विभिन्न ढंगले प्रयत्न भइरहेको समेत बताए । देशको आर्थिक राजनीतिक संकटको निकास दिन र समाजवादी प्रणाली स्थापित गर्न निरन्तर अगाडि बढ्ने महासचिव विप्लवले प्रतिबद्धता जनाए ।

Leave a Reply