काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूले मिटरब्याजपीडितका माग सम्बोधन नगरे संघर्षमा उत्रिने सरकारलाई चेतावनी दिएको छ ।
शुक्रबार अनेरास्ववियूले एक प्रेस विज्ञप्ति जारी गर्दै मिटरब्याजपीडितका माग सम्बोधन गर्न सरकारसँग माग गर्दै यस्तो चेतावनी दिएको हो ।
संगठनका अध्यक्ष आरती लामाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘मिटरब्याजपीडित जनसमुदायले न्यायका लागि अघि बढाएको संघर्षलाई सरकारले गरिरहेको वेवास्ता प्रति अनेरास्ववियूको गम्भीर ध्यानाकर्षण भएको छ ।
कोशी प्रदेशको काँकडभिट्टा देखि सुदूरपश्चिमको महेन्द्रनगरलगायत देशका विभिन्न ठाउँबाट २३ दिन पैदल हिंडेर राजधानीमा आइपुगेको आन्दोलन र संघर्षका सबै कार्यक्रममा हाम्रो दृढ समर्थन र ऐक्यबद्धता व्यक्त गर्दछौं।’
विज्ञप्तिमा अगाडि भनिएको छ, ‘अनेरास्ववियू आन्दोलनरत पीडित जनसमुदायको यस सन्दर्भका सबै संघर्षका कार्यक्रममा सँगसँगै हुनेछ। सरकारलाई यथाशीघ्र मिटरब्याज पीडित जनताको समस्या समाधानका लागि पहलकदमी लिन अनुरोध गर्दछौं ।
मिटरब्याज जस्तो अत्यन्त संवेदनशील समस्या समाधानमा हुने सामान्य आलटाल पनि स्वीकार योग्य नहुने हाम्रो बुझाइ छ । सरकारका तर्फबाट समस्या समाधानमा हुने विलम्बले अनेरास्ववियूलाई पनि आन्दोलन र संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य तुल्याउने जानकारीसमेत गराउँदछौं ।’


Leave a Reply