सुदूरपश्चिममा कार्यान्वयन नहुँदै ‘निजामती ऐन’ संशोधनको तयारी

कैलाली । केन्द्रमा संघीय निजामती ऐन आउन ढिलाइ भइरहेका बेला सुदूरपश्चिम प्रदेशमा पारित गरिएको सुदूरपश्चिम प्रदेश निजामती ऐन २०७९ कार्यान्वयन नहुँदै संशोधनको तयारी गरिएको छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले आन्तरिक मामिला तथा कानून मन्त्रालयमार्फत एक साता पहिले प्रदेश सभा सचिवालयमा ऐन संशोधनका लागि विधेयक दर्ता गरिसकेको छ ।

अहिले प्रदेश सभा बैठक अनिश्चितकालको लागि स्थगित रहेको छ । बैठक सुरु भए लगत्तै संशोधन विधेयक प्रदेश सभामा पेस हुने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

सर्वोच्चमा परेको थियो रिट

२०७८ असार १३ गते सुदूरपश्चिम प्रदेश सभामा दर्ता भएको विधेयक १४ महिना पछि पारित भएको थियो । संघीय निजामती ऐन नआउँदै प्रदेशमा तयार हुँदा पनि पारित हुन ढिलाइ भएको थियो । प्रदेश सभाले २०७९ भदौ ३१ गते उक्त विधेयक पारित गर्यो । श्रेणि विहीन कर्मचारीलाई पनि स्थायी गर्ने गरी ऐन ल्याएको भन्दै त्यो बेला नै उक्त ऐनको विरोध भएको थियो ।

सुदूरपश्चिम प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७९ विरुद्ध सर्वोच्च अदालतमा पनि रिट दायर गरिएको थियो ।

निजामती सेवा ऐन २०४९ को प्रावधान विपरीत प्रदेश सरकारले विधेयक पारित गरेको भन्दै बोलन्या थलीका संयोजक यादव जोशी र अधिवक्ता वीरभद्र जोशीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । प्रदेशसभाबाट उक्त विधेयक बहुमतले पारित भएको थियो ।

संघीय निजामती ऐन संघीय संसदमा विचाराधीन रहेकै अवस्थामा प्रदेश निजामती ऐन पारित गरिएको हो ।

निजामती सेवा तथा अस्थायी र करार सेवाका कर्मचारीलाई स्थायी गर्न ल्याएको उक्त ऐनको तत्कालीन समय (प्रदेशसभाबाट पारित हुँदा) पनि चर्को विरोध भएको थियो । विधेयकमाथि भएको छलफलमा प्रतिपक्षी नेकपा (एमाले)का कृष्णराज सुवेदीले विधेयक विवादित भएकोले फिर्ता लिनुपर्ने बताएका थिए ।

प्रदेश सरकारले प्रदेशमा अस्थायी तथा सेवा करारमा कार्यरत कर्मचारीलाई सोझै स्थायी गर्ने उद्देश्यले विधेयक प्रदेश सभामा टेबल गरेको थियो ।

तर, विधायन तथा प्रदेश मामिला समितिले भने संशोधन गरेर लोकसेवा आयोगमार्फत परीक्षा लिएर स्थायी गर्ने बुँदा थप गरिदियो । हाल श्रेणीविहीन कर्मचारीलाई स्थायी गर्ने व्यवस्था छैन । संघीय व्यवस्थासँग बाझिने गरी प्रदेशमा कानून निर्माण गरिएपछि खारेजीको लागि रिट दायर गरिएको हो । अहिलेसम्म पनि उक्त रिटको सुनुवाइ भएको छैन ।

के-के हुँदैछ संशोधन ?

सुदूरपश्चिम सरकारले प्रदेश निजामती ऐनमा बढुवाको अङ्क थपघटदेखि आरक्षण प्रतिशत हेरफेरसम्म गर्ने गरी संशोधन विधेयक प्रदेश सभामा दर्ता गराएको छ । दफा ४ मा प्रदेश निजामती सेवा अन्तर्गत प्रदेश न्याय सेवा थप गरिएको छ । यस अघि ८ सेवा रहेकोमा अब ९ पुग्ने छ ।

निजामती सेवा ऐन २०४९ को प्रावधान विपरीत श्रेणीविहीन कर्मचारीलाई पनि स्थायी गर्ने व्यवस्था अहिले हटाउन प्रस्ताव गरिएको छ । दफा ९ मा प्रदेश निजामती सेवाको पदपूर्ति सम्बन्धी व्यवस्थामा बढुवा अङ्क थप घट गरिएको छ ।

दफा १० को पदपूर्ति सम्बन्धी विशेष व्यवस्थामा महिला र पिछडिएको क्षेत्रबाहेक सबै कोटाको प्रतिशत हेरफेर गरिएको छ ।

महिलालाई ३३ प्रतिशत र पिछडिएको क्षेत्रलाई १० प्रतिशत कायम राखिएको छ भने दलितलाई १४ प्रतिशतबाट बढाएर १५ पुर्याइएको छ । थारु्राना थारुलाई पनि १३ बाट १५ गरिएको छ । आर्थिक रूपमा विपन्न खस आर्यलाई १२ प्रतिशतबाट ११ बनाइएको छ ।

आदिवासी जनजातिलाई १० बाट ७, अपाङ्गलाई ४ बाट ५, मधेशीलाई ३ बाट २ र मुस्लिमलाई २ प्रतिशतबाट १ प्रतिशतमा झारिएको छ ।

दफा १३ को ज्यालादारी वा करार नियुक्त गर्न नपाइने व्यवस्थामा कुनै पनि व्यक्तिलाई नियुक्ति गरेमा त्यसरी नियुक्ति पाएको व्यक्तिले पाएका तलब भत्ता र अन्य सुविधा बापतको रकम नियुक्त गर्ने अधिकारीबाट असुल उपर गरिने उल्लेख गरिएको छ । संशोधन गरिएको विधेयकमा निरोगिताको प्रमाणपत्र पेस गर्नेदेखि प्रमुख सचिवको पदावधि समेत फेरिएको छ ।

यस अघि उमेदको हद ननाग्ने गरी प्रमुख सचिवको पदावधि तीन वर्ष कायम गरिएकोमा अब पाँच वर्ष उल्लेख गरिएको छ । बढुवाको लागि न्यूनतम सेवा अवधि र शैक्षिक योग्यतालाई पनि थप स्पष्ट पारिएको छ ।

कर्मचारीको कार्यक्षमताको मूल्याङ्कनमा आधारहरूमा अङ्क समेत हेरफेर गरिएका छन् । ५८ वर्षमा अनिवार्य अवकाशको व्यवस्था गरिएको ऐनमा सेवा सर्तसँग सम्बन्धित प्रचलित सङ्घीय कानुनले अनिवार्य अवकाशको लागि तोकेबमोजिम भन्ने शब्द राखिएको छ ।

संशोधन गरिएको विधेयकमा निवृत्तिभरण नपाउने व्यवस्थालाई पनि थप स्पष्ट पारिएको छ ।

 

Comments

One response to “सुदूरपश्चिममा कार्यान्वयन नहुँदै ‘निजामती ऐन’ संशोधनको तयारी”

  1. ksp pyl Avatar
    ksp pyl

    विना पूर्वाधार, विना योजना ऐनजस्तो दूरगामी महत्वका काम गर्न प्रदेश सरकारलाई जिम्मा दिएर देश भद्रगोल र असाधारण खर्चको चपेटामा पारिदैछ । पद पाए देशै बेच्न तयार हुने गठबन्धन नामको दिल्ली र पश्चिमाका दलालहरूको झुण्ड सरकारमा छ । देश रहने नरहने चिन्ता पो बढन थाल्यो । देशभक्त एकमात्र दल एमालेलाई कमजोर बनाउन सबै शक्ति लागेका छन् । हुँदाहुँदा दिल्लीको दलाल, बैंक ठग दुर्गा पनि मान्छे भेला गरेर ओलिलाई मात्र गाली गर्छ । अब नेपाली जनता स्वयम् सचेत भएर यी दिल्ली र पश्चिमाका दलाल, ठग, भ्रष्टाचारीहरूलाई ठेगान लगाउन ढिला भैसक्यो । यसको नेतृत्व एमालेले गर्नुपर्छ र जनता जुरूक्क उठेर एमालेलाई साथ दिनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *