शानदार शतक बनाएका अनिल छैनन् विश्वकप लिग- २ खेल्ने नेपाली टोलीमा

काठमाडौं । नेपालका प्रारम्भिक ब्याट्सम्यान अनिल साहले एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा शानदार पुनरागमन गरेका छन् ।

क्यानडाविरुद्ध सोमबार सम्पन्न तीन खेलको श्रृंखलामा उनले शानदार प्रदर्शन गरेका छन् । पहिलो खेलमा प्लेइङ सेटमा नरहेका अनिलले दोस्रो खेलमा अर्धशतक बनाए भने तेस्रो खेलमा शतक पूरा गरे । यी दुवै सफलता उनको खेल जीवनमा पहिलो थियो ।

अनिल अन्तर्राष्ट्रिय क्रिकेटमा कमजोर प्रदर्शनपछि टोलीमा अटाउन सकेका थिएनन् । यसअघि नेपाली टोलीबाट खेलेका ४ वटा एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा उनले केवल ३२ रन बनाएका थिए ।

हालै सम्पन्न प्रधानमन्त्री कपमा शानदार प्रदर्शन गरेपछि उनलाई क्यानडाविरुद्धको श्रृंखलाका लागि टोलीमा समावेश गरिएको थियो ।

यसै साता सुरु हुने विश्वकप लिग- २ को श्रृंखलाका लागि भने उनी नेपाली टोलीमा छैनन् । क्यानडाविरुद्ध उल्लेख्य प्रदर्शन गरेका देव खनाल पनि विश्वकप लिग- २ खेल्ने टोलीमा छैनन् । दुवै खेलाडी रिजर्भमा छन् ।

को को छन् विश्वकप लिग- २ खेल्ने नेपाली टोलीमा ?

गत साता नेपाल क्रिकेट संघ (क्यान)ले क्यानडा र विश्वकप लिग- २ अन्तर्गत पहिलो श्रृंखलाका लागि टोली घोषणा गरेको थियो । टोली बेग्लाबेग्लै घोषणा गरिएको थियो ।

विश्वकप लिग- २ अन्तर्गत यो श्रृंखला खेल्ने खेलाडीमा रोहित पौडेल, आरिफ शेख, आसिफ शेख, गुल्शन झा, करण केसी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, पवन सर्राफ, भीम सार्की, अर्जुन साउद, ललित राजवंशी, कुशल मल्ल, सूर्य तामाङ र रिजन ढकाल छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *