मधेश सरकारको नेतृत्व आलोपालो टुंग्याउन बालुवाटारमा छलफल

काठमाडौं । सातै प्रदेशका मुख्यमन्त्रीसहित प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा मधेशका मुख्यमन्त्री सरोजकुमार यादवको कार्यकालको विषयमा प्रश्न उठेको छ। गठबन्धनमा भएको आलोपालो सहमतिअनुसार मुख्यमन्त्री यादवको कार्यकाल कहिलेसम्म हो भन्नेमा प्रश्न उठेको हो ।

यादव जसपाबाट मुख्यमन्त्री बनेका हुन् । जनमत पार्टीले मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिएपछि फागुन ९ गतेभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक बाध्यता छ ।

तर, आज बसेको गठबन्धनको बैठकमा कांग्रेस र माओवादी केन्द्रले आलोपालो सहमतिअनुसार कार्यकाल टुंग्याउनुपर्ने विषय प्रवेश गराए । मधेशको मुख्यमन्त्रीमा कांग्रेस र माओवादीले दाबी गरेका छन् । अब मुख्यमन्त्री यादवले विश्वासको मत लिएर निरन्तरता दिनुको सट्टा आलोपालो सहमतिअनुसार समय तोक्नुपर्नेमा कांग्रेस-माओवादीको जोड थियो ।

प्रधानमन्त्री प्रचण्डले राखेको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन् । जसपाबाट वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन सहभागी थिए । बालुवाटार बैठकमा आलोपालो सहमतिबारे कुरा उठे पनि ठोस कुनै छलफल नभएको नेता श्रेष्ठले बताए ।

उनले भने, ‘अब मुख्यमन्त्रीजीले विश्वासको मत लिनुहुन्छ । त्यसपछि मात्रै गठबन्धनमा आलोपालोबारे छलफल हुन्छ ।’

यता, मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिए पनि जनमत पार्टीले पनि मुख्यमन्त्रीको दाबी गर्न छाडेको छैन । गठबन्धनमा जसपापछि आफूहरुले सरकारको नेतृत्व गर्ने सहमति बनेको दाबी गर्दै आएको छ । तर, जसपा नेताहरु त्यो कुरा स्वीकार्न तयार छैनन्।

आज बसेको गठबन्धन बैठकमा जनमत सहभागी भएको थिएन । उसले गठबन्धनमा मुख्यमन्त्रीको दाबी गरेपछि मात्रै प्रधानमन्त्री प्रचण्डलाई दिएको समर्थनबारे निर्णय गर्ने रणनीति अख्तियार गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *