आजदेखि संसदको हिउँदे अधिवेशन, सांसदहरूको तयारी कस्तो छ ? (भिडिओ)

काठमाडौं । आजदेखि संघीय संसदको दुवै सदनको हिउँदे अधिवेशन शुरु हुँदै छ । अपराह्न ४ बजे संसदको दुवै सदन प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै छ ।

विधेयक अधिवेशनको रूपमा लिइने हिउँदे अधिवेशनमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउनका लागि सांसदहरूले आ–आफ्नो तयारी गरिरहेका छन् । न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले आफ्नो भूमिका दलहरूसँग समन्वयकारी भूमिका खेल्ने हुने बताए ।

उनले आफू सत्तारुढ दलभित्रको एउटा घटकको प्रमुख सचेतक भएको भन्दै गठबन्धनका दलहरूसँग आवश्यक समन्वय गर्नुपर्ने जिम्मेवारी रहेको बताए । उनले आफ्ना सांसदहरूलाई उत्प्रेरित गर्ने, दलभित्रका विषयवस्तुलाई व्यवस्थित गर्ने र संसदमा दलको भूमिकालाई प्रभावकारी बनाउन भूमिका खेल्ने पनि बताए ।

त्यस्तै, नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले जनताको समस्याहरूलाई संसदबाट उठाउने बताए । उनले विकास निर्माण, सुशासन र सामाजिक न्यायको पथमा राज्यलाई घचघच्याइने बताए । उनले सरकारसँग जनताको अपेक्षा र भरोसा हुने भन्दै जनताको अपेक्षाहरूलाई पूरा गर्नका लागि पनि आफूले भूमिका खेल्ने बताए । उनले संसदमा हुने रचनात्मक र बौद्धिक विमर्शमा पनि आफ्नो भूमिका हुने बताए ।

नेपाली कांग्रेसकी सचेतक सुशीला थिङले सरकारले संसदमा ल्याएका विधेयकहरूलाई छिटोभन्दा छिटो पारित गराउन र विधेयकमा जनताको कुराहरू सम्बोधन गर्न लाग्ने बताइन् । उनले स|सदलाई प्रभावकारी बनाउन पनि कुनै कञ्जुस्याँइ नगरी लाग्ने बताइन् ।

नेपाली काँग्रेसका सांसद जीवन परियारले आफू सम्बद्ध समितिको कामलाई तदारुकता दिने बताए । आफूले प्रतिनिधित्व गरेको समूहको पक्षमा आवश्यक कानूनहरु निर्माण गर्न विशेष पहलकदमी लिने पनि बताए । जनताका ज्वलन्त समस्याहरूलाई पनि संसदमा उठाउने आफ्नो तयारी रहेको उनको भनाई छ ।

नेकपा(एमाले)की सांसद अमृतादेवी अग्रहरीले देशमा अराजकता र भ्रष्टाचार बढिरहेको भन्दै यसको अन्त्यका लागि जोडदार आवाज उठाउने बताइन् । उनले पार्टीको निर्णय र निर्देशनअनुसार पनि आफ्नो प्रस्तुति हुने बताइन् ।

नेकपा(एमाले)का सांसद तारा लामा तामाङले सरकारले बजेट कार्यान्वयनमा तदारुकता नदेखाएको भन्दै यस सन्दर्भमा आवाज उठाउने बताए । उनले संसदमार्फत राष्ट्र र राष्ट्रियताको लागि आवाज उठाउने पनि बताए ।

नेकपा(एमाले)की सांसद शान्ति श्रेष्ठले सरकारको कामको लेखाजोखा गर्ने र सोहीअनुरूप संसदमा प्रस्तुत हुने बताइन् । उनले सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक, शिक्षा सम्बन्धी विधेयक लगायतका विधेयकहरूलाई छिट्टै पारित गर्नुपर्ने अवस्था रहेको भन्दै सोही अनुरूप भूमिका खेल्ने बताइन् ।

नेकपा(एमाले)का सांसद चन्द्रबहादुर विश्वकर्माले समाजमा विभिन्न प्रकारका बेथिति र अपारदर्शिताहरू रहेका भन्दै त्यसको विरुद्ध आवाज उठाउने बताए । उनले कानूनको अभावमा जनताले दुःख पाउने स्थिति रहेकाले जनतामा सहजीकरण गर्न र कानून निर्माणमा सहजता ल्याउन आफ्नो तर्फबाट भूमिका खेल्ने बताए ।

सांसद विश्वकर्माले विगतमा जस्तो सरकारले संसदमा बिजनेस नदिने कुराको अन्त्य होस् भन्ने आफूले चाहेको पनि बताए । जनताका समस्याहरू समाधानका लागि आफूले पहलकदमी लिने उनको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *