रामग्राम क्षेत्र बिनाप्रतिस्पर्धा प्रचण्डका घरबेटीका छोराको कम्पनीलाई भाडामा दिएकोप्रति अनेरास्ववियुको आपत्ति

काठमाडौं । नेकपा एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियुले विगतमा लुम्बिनी विकास कोषका उपाध्यक्ष ल्हारक्याल लामाको अगुवाईमा लुम्बिनी विकास कोषले गौतम बुद्धको अस्थिधातु समाधिस्थ गरिएको नवलपरासी रामग्राम क्षेत्रमा उत्खनन एवं बौद्ध स्तूप निर्माण गर्न बिना प्रतिस्पर्धा ९९ वर्षको अवधिलाई निजी कम्पनीसँग समझदारी गरेकोप्रति आपत्ति जनाएको छ।

अनेरास्ववियुका अध्यक्ष समिक बडालले पुरातत्व विभाग, पर्यटन मन्त्रालय र अर्थ मन्त्रालयको लिखित असहमति बीच प्रधानमन्त्री पुष्पकमल दाहालका घरबेटी तथा विवादास्पद निर्माण व्यवसायी शारदाप्रसाद अधिकारीका छोरा निकेश अधिकारी समेत आबद्ध भएको निजी कम्पनीलाई बिना प्रतिस्पर्धा दिएकोप्रति आपत्ति जनाएका हुन्।

विज्ञप्तिमा भनिएको छ, ‘सर्वसाधारणको ११६ बिघा जग्गा अधिग्रहण हुने गरी १२० बिघा ९९ वर्षका लागि लिजमा दिने गरी भएको समभझदारीले सरकारका प्रधानमन्त्री स्वयं माफियाहरुलाई पास्ने र भ्रष्टाचार, आर्थिक अनियमितता, कमिशनतन्त्र, नीतिगत भ्रष्टाचारमा लिप्त भएको प्रमाणित भएको छ।’

तत्काल यो गैरकानुनी र पदको दुरुपयोग गरेर गरिएको सम्झौतापत्र खारेज गरी सम्बन्धित निकायहरुको सहमतिमा प्रतिस्पर्धाबाट छनौट प्रक्रिया अगाडी बढाउन अनेरास्ववियुले माग गरेको छ।

कानुनी राज्यको धज्जी उडाउँदै भएका गतिविधीहरु बन्द नगरे सरकारविरुद्ध कडा भन्दा कडा आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने चेतावनी दिएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *