रोनाल्डो र मेस्सी आमनेसामने हुनुअघि इन्टर मियामीको खराब लय, ११ खेलयता जितविहीन

काठमाडौं । अर्जेन्टिनी कप्तान लियोनल मेस्सी आबद्ध अमेरिकी मेजर लिग सकर (एमएलएस) क्लब इन्टर मियामीले निरन्तर खराब प्रदर्शन गरिरहेको छ। इन्टर मियामीले ११ खेलयता जित हात पार्न सकेको छैन।

पछिल्लो खेलमा सोमबार राती साउदी अरबको अल हिलालसँग ४-३ गोलले पराजित भयो। मैत्रीपूर्ण खेलमा लियोनल मेस्सी र लुइस स्वारेज दुवैले गोल गरे पनि इन्टर मियामीले हार टार्न सकेन।

खेलको सुरुवातमै २-० गोलले अगाडि बढेको हिलालविरुद्ध मियामी ५५ औँ मिनेटमा ३-३ गोलको बराबरीमा पुगेको थियो तर अल हिलालले ८८ औँ मिनेटमा गोल गर्दै पुन अग्रता लिएको थियो।

मियामीले गत अक्टोबर २१ यता जित हात पार्न सकेको छैन। यसबीचमा मियामीले ७ हार र ४ बराबरीको नतिजा निकालेको छ।

मियामीले फेब्रुअरी १ तारिखमा साउदी अरबको अर्को क्लब अल नासरसँग प्रतिस्पर्धा गर्दै छ।

अल नासरमा क्रिस्टियानो रोनाल्डो रहेकाले विश्व फुटबलमा दुई ठुला स्टार यो खेलमा आमने सामने हुनेछन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *