गठबन्धनका नेता रिझाउन कोशी सरकारले ल्याएको अध्यादेशको एमालेले गर्‍यो विरोध (भिडिओ)

विराटनगर । कोशी प्रदेश सरकारले केही प्रदेश ऐन संशोधन गर्न ल्याएको अध्यादेश फिर्ता लिन एमालेले माग गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलले आज पत्रकार सम्मेलन गर्दै गठबन्धन दलका नेताहरूलाई खुसी पर्न ल्याएको अध्यादेश फिर्ता नलिए सांसदबाटै निष्क्रिय पार्नेसम्मको चेतावनी दिएको हो ।

एमालेका प्रमुख सचेतक रेवतीरमण भण्डारीले तत्काल फिर्ता नलिए अध्यादेश फेल गराउन बाध्य हुने चेतावनी दिए । संसद्को सामान्य सिद्धान्तसमेत उल्लंघन गरेर अध्यादेश ल्याइएकाले प्रदेश संरचनामाथि नै प्रश्न उठेको एमालेको टिप्पणी छ ।

यो पनि पढ्नुहोस् : गठबन्धनका नेता रिझाउन अध्यादेशबाट ऐन संशोधन- दलका नेता र सचेतकलाई गाडीसहित थप नगद

‘संघीय संसदमा समेत नभएको व्यवस्था प्रदेश सरकारले गरेको छ । एकजना सांसद भएको पार्टीलाई समेत गाडी सुविधा दिने व्यवस्था मिलाइनु आपत्तिजनक छ । सातै प्रदेशमा यस्तो छैन’, भण्डारीले भने ।

मुख्यमन्त्री केदार कार्कीले सत्तागठबन्धनका नेता रिझाउन प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरूको सेवासम्बन्धी ऐन २०७५ लाई अध्यादेशबाट संशोधन गराएका थिए ।

संशोधित परिभाषाअनुसार एकजनामात्र सांसद रहेको जसपाकी निर्मला लिम्बूको पनि गाडी र थप नगद सुविधा पाउने छिन् ।

ऐन संशोधनसँगै पूर्वमुख्यमन्त्रीहरू उद्धव थापा र राजेन्द्र राईको सुविधा पनि सुरक्षित भएको छ । यस्तै सत्तारुढ दलका सचेतकहरूलाई पनि गाडी सुविधा दिइने गरी ऐन संशोधन गरिएको छ । माघ ६ गते मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुखले अध्यादेशमार्फत पारिश्रमिक तथा सेवा सुविधासम्बन्धी ऐन संशोधन गरिएको हो ।

Comments

One response to “गठबन्धनका नेता रिझाउन कोशी सरकारले ल्याएको अध्यादेशको एमालेले गर्‍यो विरोध (भिडिओ)”

  1. Nagendra Avatar
    Nagendra

    गणतन्त्र बलियो बनाउने अभियान !!
    लुटेराहरुको लूट धन्दा !!
    ‘गठबन्दन’ को असली चरित्र र वास्तविक अनुहार !!
    देखेउ जनता !?

Leave a Reply

Your email address will not be published. Required fields are marked *