सङ्घीयता अभ्यासमा स्थानीय तह अब्बल : सभामुख घिमिरे

हेटौँडा । प्रतिनिधिसभा सभामुख देवराज घिमिरेले सङ्घीयतालाई कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तह अब्बल रहेको बताएका छन् ।

शनिवार मकवानपुरको भीमफेदीमा आयोजित योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा योजनाको शुभारम्भ कार्यक्रममा बोल्दै सभामुख घिमिरेले स्थानीय तहहरूले गरेको सफल कार्यक्रमले जनताले सङ्घीयतालाई नजिकैबाट नियाल्न पाएको बताए ।

नेपालको संविधानले व्यवस्था गरेअनुसारको सङ्घीयता नेपाल माटो सुहाउँदो र उत्कृष्ट रहेको बताउँदै सभामुख घिमिरेले सङ्घीयता कार्यान्वयनको सन्दर्भमा सबै तह गम्भीर हुनुपर्ने बताए ।

भीमफेदी गाउँपालिकाले आजबाट शुभारम्भ गरेको योगदानमा आधारित अनौपचारिक क्षेत्रका श्रमिकहरूको सामाजिक सुरक्षा कार्यक्रमलाई देशको सबै स्थानीय तहले पनि लागु गर्नुपर्ने बताउँदै सभामुख घिमिरेले सामाजिक सुरक्षा कार्यक्रमले श्रमिकहरूको अवस्थामा सुधार ल्याउने उल्लेख गरे ।

विश्वको विकसित देशहरूले अनौपचारिक क्षेत्रको श्रमिकलाई ध्यानमा राखेर यस्ता खाले योजना धेरै अघि सुरु गरिसकेको भन्दै उनले नेपाल पनि श्रमिकको पक्षमा काम गर्न पछि पर्न नहुने भन्दै ऐन जारी गरेर काम अघि बढाएको बताए ।

उनले स्थानीय तहले अनौपचारिक क्षेत्रका मजदुरलाई घरदैलोमा सिंहदरबार आएको महसुस हुनेगरि काम गर्न निर्देशन समेत दिएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *