राष्ट्रिय शहीदको सूचीमा तीन हजारको नाम थप हुँदैछ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले थप राष्ट्रिय शहीदको लिष्टमा थप तीन हजारको नाम थप हुने बताएका छन् ।

शहीद प्रतिष्ठान नेपालको १४ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले छुट भएका तीन हजारको नाम थप्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको र गृह मन्त्रालयबाट समेत प्रमाणित भइसकेको बताए ।

राजपत्रमा प्रकाशनका लागि तयारी भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले प्रकाशित भइसकेपछि जनयुद्धमा मारिएका थप तीन हजार राष्ट्रिय शहीदको सूचीमा थपिने प्रक्रिया पूरा हुने बताए ।

त्यस क्रममा प्रधानमन्त्री दाहालले सरकारले अझै पनि जनयुद्धका क्रममा बलिदान गर्नेहरूलाई शहीद बनाउने काममा छुटेका भए तत्काल सम्बोधन गर्ने आश्वासन समेत दिए ।

आफूले तेस्रो पटक प्रधानमन्त्री भएपछि माओवादी जनयुद्ध र जनआन्दोलनका शहीदहरू नछुटुन् भनेर विशेष ध्यान दिएको पनि बताए । सरकारले जनयुद्धमा शहीदहरूलाई राष्ट्रिय शहीद घोषणा गर्ने कुरालाई उच्च प्राथमिकता दिएको प्रधानमन्त्री दाहालको भनाई थियो ।

शहीदको सूचीमा तीन हजारको नाम थप गर्ने निर्णय सामान्य नभएको उल्ले गर्दै प्रचण्डले यसले क्रान्ति र युद्धलाई सम्मानित गरेको बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *