मनीषाको चिन्ता- नेपालमा राष्ट्रियताको कुरा गर्नेलाई प्रतिगामी भन्ने गलत भाष्य बनाइँदैछ (भिडिओ)

काठमाडौं । बलिउड अभिनेत्री तथा प्रथम जन निर्वाचित प्रधानमन्त्री बिपी कोइरालाकी नातिनी मनीषा कोइराला नेपालमा राष्ट्रवादीहरूलाई होच्याउने र हीनताबोध गर्ने प्रवृतिप्रति चिन्तित देखिएकी छन् ।

राप्रपानिकट नेपाल प्राज्ञिक परिषद्ले शनिवार काठमाडौंमा आयोजना गरेको राष्ट्रियता सम्बन्धी कार्यक्रममा अभिनेत्री कोइरालाले नेपालमा राष्ट्रियताको बारेमा गलत भाष्य बनाइएको बताइन् ।

कोइरालाले भनिन्- राष्ट्रियताभन्दा ठूलो कुरा अरू केही हुन्न । मैले भारतमा धेरै वर्ष बिताएँ,त्यहाँ एउटा नेतादेखि सामान्य नागरिकसम्म ‘प्राउड इण्डियन’ हुन्छन् । अमेरिकामा अहिले ट्रम्पले राष्ट्रवाद तर हामीकहाँ चाहिँ के भाष्य दिएको छ भने राष्ट्रियता भनेको त ब्याकवार्ड थिंकिङ हो,हामीले त ग्लोबाइजेशन सोच्ने हो । अरे वा,यहाँ हाम्रो घर भत्केको छ,परिवार छिन्न भिन्न भइरहेका छौँ,अनि ग्लोबलाइजेशनको कुरा गर्ने ? पहिले हामीले आफ्नो परिवारलाई हेर्ने हो । हाम्रो घर भनेको नेपाल हो र परिवार भनेको नेपाली हौं ।

नेपाल पछिल्लो समय सांस्कृतिक,धार्मिक र मौलिक पहिचानको सम्बृद्धिबाट बिस्तारै कमजोर बन्दै गएको बताइन् । उनले अहिलेको राजनीतिक व्यवस्था कायमै रहे नेपाल असफल राष्ट्रतर्फ अघि बढ्ने चिन्ता उनको छ ।

पुर्खाले दुःख कष्ट र त्याग गरेर बचाएको देश अहिले धेरै कमजोर र पराधीन बन्दै गइरहेको भन्दै उनले अर्को पुस्तालाई आपसमा मतभेद राखेर टुटेको नेपाल दिने खतरा रहेको बताइन ।

आमासहित कार्यक्रममा उपस्थित भएकी मनीषाले नेपाल आमालाई सोचेर अबको बाटो तय गर्न आग्रह गरिन् । उनले आफू राजनीतिक कार्यक्रममा नजाने भन्दै राष्ट्रियताको विषय भएको सो कार्यक्रममा उपस्थित भएको प्रस्टीकरण समेत दिइन् ।

तस्बिरहरु : उमेश कार्की

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *