समितिमा पनि ‘बंक’ हान्दै सांसद, कोरम नपुगेपछि अन्तर्राष्ट्रिय समितिको बैठक बसेन

काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक कोरम नगुगेपछि स्थगित भएको छ । छलफलका लागि बोलाइएका पर्यटनमन्त्री सुदन किरातीसहित समितिका सदस्य अनुपस्थित भएपछि बैठक स्थगित भएको हो ।

प्रतिनिधिसभाको बैठकमा पनि सांसद उपस्थित नहुने पुरानै रोग छ । संसदीय समितिमा महत्वपूर्ण छलफल हुँदासमेत मन्त्री तथा सदस्य नआउँदा आलोचना बढ्दो छ ।

समितिका सभापति राजकिशोर यादवले कोरम नपुगेपछि छलफल अगाडि बढाउन खोजेका थिए । तर, उपस्थित सदस्यहरूले विरोध जनाएपछि उनले बैठक स्थगित भएको जानकारी गराए ।

उनले भने, ‘मेरो ध्येय कोरम पनि पुग्छ, विधेयकमाथि छलफल गरेर निष्कर्षमा पुग्छ भन्ने बुझाइ थियो तर, प्राविधिक कारणले आजको बैठक स्थगित भएको घोषणा गर्छु ।’

सभापति यादवको घोषणापछि अब बस्ने बैठकमा पनि मन्त्री सहभागी नभए बस्न नदिने एमालेका सांसद रघु पन्तले चेतावनी दिए ।

उनले भने, ‘संसदीय समितिप्रति मन्त्री उत्तरदायी हुनुपर्दैन ? आफ्नो मन्त्रालयसँग सम्बन्धित विधेयकमा छलफल भइरहेको बेला त्यो भन्दा अरु महत्वपूर्ण मन्त्रीको लागि के हुन्छ ? त्यसैले मन्त्रीको समय लिएर अर्को बैठक राख्नुस् । समितिको बैठकलाई हेपेर जान त मिल्दैन नि !

आजको बैठकको कार्यसूची थियो अभिलेख संरक्षण ऐन, २०४६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल र विविध । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, पूर्वउपसभामुख एवं लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरसहित सांसद बैठकमा सहभागी थिए । सुरूमा सांसद सुमना श्रेष्ठले विधेयकमाथिको संशोधन प्रस्ताव प्रस्तुत गरिन् । सभापति राजकिशोर यादवले उक्त विधेयकको दफाबार छलफलका लागि समितिका सचिव बबिता मिश्रलाई अनुमति दिए । सचिव मिश्रले विधेयकको पहिलो दफा पढेर सहमतिका लागि प्रस्तुत गरे ऽ

बैठक सुरू भइसकेपछि केही ढिलो गरी उपस्थित नेता पन्तले पनि आफ्नो विधेयक उपरको संशोधनका बुँदा पढेर सुनाए । आफ्नो कुरा राखिसकेपछि बैठकहलको चारैतिर नजर लगाउँदा विभागीयमन्त्री नदेखेपछि सांसद पन्तले पूर्वप्रधानमन्त्री र वरिष्ठ नेतालगायतको उपस्थिति हुँदा बैठकमा मन्त्री उपस्थिति नहुने अवस्थामा बैठक चल्न सक्दैन भने ।

राष्ट्रियसभाको निर्वाचनको सन्दर्भमा धेरै सांसद काठमाडौँबाहिर भएकाले बैठकमा छलफल गर्दै गर्ने भन्ने उद्देश्यले बैठक बोलाइएको सभापति यादवले बताए । सांसद पन्तले बैठकमा गणपूरक सङ्ख्या पनि नपुगेकाले यो बैठक स्थगित हुनुपर्छ भनेर माग गरे ।

समितिमा कूल २७ सांसद रहेकोमा आजको बैठकमा ९ जनामात्र उपस्थित थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *