कर्णालीमा मतगणना सुरु

सुर्खेत । कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यको लागि भएको निर्वाचनमा मतगणना सुरु भएको छ । बिहान ९ बजेदेखि सुरू भएको मतदान १ बजे सकिएको थियो । मतदानलगत्तै मतगणना सुरु भएको निर्वाचन अधिकृत दुर्गा प्रसाद चालिसे जानकारी दिए ।

निर्वाचनमा प्रदेश सभा तर्फका ४० जना सदस्यले मतदान गरेका थिए भने ७९ स्थानीय तहका १५८ मतदातामध्ये १५६ जनाले मतदान गरेका थिए ।

स्थानीय तहका दुईजनाको निधन भएपछि १५६ जनाले मतदान गरेका हुन् । जसमा दैलेखको महाबु गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङको एक वर्ष अगाडि मृत्यु भएको थियो भने जाजरकोटको नलगाड नगरपालिका उपप्रमुख सरिता सिंहको कात्तिक १७ गते भूकम्पका कारण मृत्यु भएको थियो । उनीहरू दुवैजना नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा तीन पदका लागि निर्वाचन भएको हो । कर्णालीमा दलित, महिला र अन्य तर्फ गठबन्धन र नेकपा एमालेले छुट्टाछुट्टै उम्मेदवार उठाएका छन् । सत्तारुढ गठबन्धन दलबाट अन्य कलस्टरमा कृष्णबहादुर रोकाया, महिलातर्फ सावित्री मल्ल र दलिततर्फ विष्णु विकले उम्मेदवार छन् ।

यस्तै, नेकपा एमालेका तर्फबाट अन्यमा डिल्ली प्रसाद भट्ट, महिलातर्फ विमला शाही र दलिततर्फ हिक्मत विकले उम्मेदवार छन् ।

यसपटक भएको निर्वाचनमा प्रति प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तह प्रति मतदाता १९ मतभार रहेको छ । यसरी गणना हुँदा कर्णाली प्रदेशको कूल मतभार ५ हजार ८४ रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *