काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले संघीयता राम्रो व्यवस्था भए पनि केन्द्रीकृत शासन व्यवस्थामा अझै चलिरहेकाले खराब हो भन्ने परिरहेको बताएका छन् ।
कृष्णप्रसाद कोइराला स्मृति परिषद्ले पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गरेका सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले संविधानले दिएको अधिकार तलसम्म ल्याउन सके खारेज गरौं भन्नेहरु नै संघीयताको पक्षमा उभिने दाबी गरे ।
नेता कोइरालाले भने, ‘संघीयता राम्रो व्यवस्था हो । तर, जसरी केन्द्रीकृत शासन व्यवस्था हामी चलाइरहेका छौं, त्यसले संघीयतामाथि प्रहार भइरहेको छ । त्यसले संघीयता खराब हो भन्ने परिरहेको छ । केन्द्रको संविधानले दिएको अधिकार तलसम्म ल्याउन सक्यौं भने अहिले खारेज गरौं भन्ने साथीहरु नै यो राम्रो व्यवस्था हो भनेर भन्नेछन् ।’
उनले आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक, धार्मिक कुनै कुरा पनि ठीक ढंगले नचलेको बताए ।
उनले भने, ‘अहिले हामीले सुशासन दिन सकेको छैन । भ्रष्टाचार बढेको छ । दण्डहीनताले सीमा नाघिसक्यो । जवाफदेही र जिम्मेवार कोही देखिँदैन । अनि हामी लोकतान्त्रिक गणतन्त्र राम्रो छ भनिरहेका हुन्छौं ।’
विकासको गति नै नभएको जिकिर गर्दै नेता कोइरालाले आर्थिक वर्ष सुरु भएको ६ महिनासम्म पनि १६ प्रतिशत मात्रै बजेट खर्च भएको बताए ।

Leave a Reply