काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले मुलुक कांग्रेसकै नीतिअनुसार चलेको बताएका छन् ।
आज नेपाली कांग्रेस जिल्ला समितिले नवलपरासी (बर्दघाट सुस्ता पूर्व)ले आयोजना गरेको प्रशिक्षणका क्रममा उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेस नै नेतृत्व गरेको र सोही अनुसार काम भइरहेको बताए ।
उनले आगामी महासमिति बैठक पछि महासमिति सदस्यहरू थप ठूलो आशा र भरोसा जाग्ने गरी अभियान पार्टीले सुरु गर्ने जानकारी पनि दिए ।
कार्यवाहक प्रधानमन्त्री एवम् रक्षा मन्त्री समेत रहेका उपसभापति खड्काले कांग्रेसभित्र निर्वाचित हुने, उम्मेदवार र निर्वाचित गराउने ठूलो पङ्क्तिका बीच खटपट हुने नदिने गरी काम गर्नु पर्नेमा जोड दिए ।
जनप्रतिनिधि र पार्टी पङ्ति मिलेर काम गर्दा जनप्रतिनिधिले गरेको काम पार्टीले अपनत्व लिने अवस्था हुने र जनताकाबीचमा जान थप सहज हुने उहाँको भनाइ थियो ।
उपसभापति खड्काले १३औँ महाधिवेशनमा मासिक सबै तहका समितिको मासिक बैठक बस्ने गरी विधान संशोधन गरिएको तर सो अनुसार काम नभएको गुनासो गरे ।
उनले आम जनताको विश्वास नेपाली कांग्रेसमा भएको भन्दै उक्त विश्वासलाई कायम राख्दै अगाडि बढ्न नेता तथा कार्यकर्तालाई सुझाव दिए ।
उनले संविधान निर्माण गर्दा जसरी कांग्रेसले अपनत्व लिएको थियो सोही अनुसार कार्यान्वयनमा पनि क्रियाशील भएर लाग्नुपर्नेमा जोड दिए ।
‘संविधान निर्माणदेखि कार्यान्वयनसम्म कांग्रेसले नै नेतृत्व लिएको छ, आगामी दिनमा पनि कांग्रेसले गरेका राम्रा कामको अपनत्व लिनुपर्छ’, उनले भने ।
२०४६ सालपछि विकास निर्माणको ठूलो काम कांग्रेसकै नेतृत्वमा सम्भव भएको तर त्यो काम जनताका माझ पुर्याउन नसकिएको उनको भनाइ थियो ।
उनले पार्टी सुधार र रूपान्तरणका लागि भाषणले नहुने भन्दै आफूभित्रको कमजोरी स्वीकार गरी त्यसलाई नदोहोर्याउने गरी सुधार गर्नुपर्छ भने ।

Leave a Reply