राजेन्द्र लिङदेनले भने- एमालेले कोशीमा ट्राइ गरौं भन्यो भने तयार छौं

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रियसभामा गठबन्धनको एक सीट घटाउन एमालेले कोशीमा ट्राइ गरौं भन्यो भने आफूहरु तयार रहेको बताएका छन् । यद्यपि, गठबन्धनले पनि राष्ट्रियसभामा राप्रपाको आवश्यकता बुझेर एक सीट छाडे स्वीकार्ने उनको भनाइ छ ।

पृथ्वी जयन्तीको अवसरमा आयोजित चियापान कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने, ‘राष्ट्रियसभामा हाम्रो मत सुरक्षित गर्ने हिसाबले उम्मेदवारी दिएका छौं। अहिलेसम्म कुनै दलसँग छलफल गरेका छैनौं । चुनावको अन्तिम क्षणसँग कुनै दलसँग समझदारी बन्यो, राप्रपा पनि राष्ट्रियसभामा आउनुपर्छ भनेर एक ठाउँमा वक्तव्य दिएर छाड्दियो भने हामीले दुःख मान्नुपर्ने अवस्था छैन । कोशीमा एमालेले हिजो हामीले पनि सहकार्य गरेकै हो, आखिर हामी पनि एक्लै जित्दैनौं, विपक्षी गठबन्धनको एक सीट घटाउन सकिन्छ ट्राइ गरौं भन्नुभयो भने हाम्रो खुशीको कुरा हो ।’

राप्रपाले कोशी प्रदेशबाट उद्धव पौडेललाई उम्मेदवार बनाएको छ । त्यहाँ गठबन्धनबाट कांग्रेसका कृष्ण सिटौला र एमालेका पर्शुराम अधिकारी चुनावी मैदानमा छन् ।

तर, अंक स्पष्ट भएकाले अहिलेसम्म कुनै दलसँग पनि आफूहरुले औपचारिक छलफल नगरेको अध्यक्ष लिङदेनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *