काठमाडौं । पशुपतिनाथ परिसरमा स्तनपान कक्षको उद्घाटन गरिएको छ । पशुपति क्षेत्र विकास कोषले मन्दिरमा दर्शन गर्न आउने भक्तजन आमाहरूलाई स्तनपान गराउन सहज होस् भन्ने उद्देश्यले निर्माण गरेको स्तनपानकक्षको संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशिला सिर्पालीले उद्घाटन गरिन् ।
मन्दिरको मूलद्वारको देब्रेतर्फ रहेको सत्तललाई मर्मत गरी स्तनपान कक्ष बनाइएको कोषका प्रवक्ता रेवती रमण अधिकारीले जानकारी दिए ।
पशुपतिनाथको दर्शनका लागि त्यहाँ पुग्ने लगभग ३० हजार भक्तजनहरूमध्ये स्तनपान गराउने उमेर समूहका बालबालिकासहित दर्शनमा पुगेका महिलाहरूले मन्दिर परिसरको बाहिर नै बसेर स्तनपान गराउँदै आएका थिए ।
उनीहरूलाई सहज होस् भनी आफूहरूले दुई वटा सोफा, लिटो खुवाउन आवश्यक तातोपानीसहित स्तनपान कक्षको व्यवस्था गरिएको उनले जानकारी दिए ।
कोषका कार्यकारी निर्देशक लक्ष्मी पुनले लामो समयदेखि बन्द भएर बसेको सत्तललाई रंगरोगन र कार्यालयमा नै भएका फर्निचरहरू व्यवस्थापन गरी स्तनपान कक्ष बनाइएको जानकारी दिइन् ।
उनले स्तनपान कक्षको सुरक्षाको लागि नजिकै बैङ्क र सशस्त्र प्रहरीको सुरक्षाकर्मी पनि रहने भएकोले आमा तथा बालबालिका पनि सुरक्षित हुने बताइन् ।
स्तनपान कक्षमा आमा र बालबालिका बाहेक पुरुष व्यक्ति छिर्न नमिल्ने नियम बनाइएको छ । भने बालबालिकाको डाइपर फेर्न मिल्नेगरी डस्टविन तथा लिटो खुवाउन चिसो तातो पानीको पनि व्यवस्था गरिएको छ ।


Leave a Reply