कोशीमा सिटौला र कोइराला समूहको विवाद मिलेकै हो ?

विराटनगर । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दिन कांग्रेस नेता कृष्ण सिटौला निर्वाचन कार्यालय पुग्दा कोशीका मुख्यमन्त्री केदार कार्की पनिसँगै थिए । उनले निर्वाचन आयोगको कार्यालयमा पुगेर नेता सिटौलालाई खादा लगाउँदै राष्ट्रियसभा सदस्य निर्वाचनमा विजयको शुभकामना दिए । त्यसपछि सँगै बसेर तस्बिर पनि खिचाए ।

मुख्यमन्त्री र सिटौलाले तस्बिर खिचाइरहँदा सँगै रहेका कांग्रेस कार्यकर्ताहरू भन्थे, मुख्यमन्त्रीको भाग पाएपछि कार्की चुप लागेका हुन् ? उनी निकटहरू नै सिटौलासँग कार्की टाँसिएको देख्दा कुरा काटिरहेका थिए ।

उनीहरूले नेता सिटौला र मुख्यमन्त्री कार्कीका बीचमा देखिएको त्यो हिम चिमलाई औपचारिक मात्रै भएको बताए । मोरङ क्षेत्र नम्बर ६(२) बाट निर्वाचन जितेका केदार कार्की संसदीय दलको नेता हुन चाहन्थे । कांग्रेसको फरक विचार समूहका नेता शेखर कोइरालाको उनलाई साथ थियो । तर कार्की संसदीय दलको नेता बन्न पाएनन् । उनी कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापासँग दलको नेताको चुनावमा पराजित भए ।

कार्कीले ९ मत ल्याउँदा थापाले १८ मत पाए । यसरी निर्वाचनमा हराउनेमा मुख्य भूमिका खेलेका थिए राष्ट्रियसभामा उम्मेदवारी दर्ता गराएका नेता कृष्ण सिटौलाले । सिटौलाले समानुपातिक तर्फबाट प्रदेश सभा सदस्य भएका झापाका उद्धव थापालाई दलको नेता बनाउन पार्टी सभापति शेरबहादुर देउवालाई कन्भिन्स गरे ।

कांग्रेसको १४ औं महाधिवेशनमा आफूलाई सभापति बन्न लगाएको गुण तिर्न देउवाले आफू निकट अमृत अर्याललाई समेत धोका दिए । कोइराला परिवारको विरासत रहेको मोरङमा दुई कार्यकाल सभापति भएका देउवा निकट अर्यालले संसदीय दलको नेताका लागि भएको चुनावमा जम्मा २ मत पाए ।

यसपछि सुरु भएको कृष्णप्रसाद सिटौला निकट भनेर चिनिएका कांग्रेस कोशी प्रदेशका सभापति उद्धव थापा बीचको टसल अझै सकिएको छैन । पार्टीबाट विद्रोह गर्दै आफूसहित ८ संसद लिएर एमालेको समर्थनमा कार्की मुख्यमन्त्री बनेपछि औपचारिक कार्यक्रममा सभापति थापा सबै कुरा मिलेको बताउँछन् । उनले औपचारिक कार्यक्रममा भन्ने गर्छन् युद्ध जितेर ८ भाइ घर आए हामीले स्वागत गर्यौं ।

उनले औपचारिक कार्यक्रममा भन्ने गरे पनि सिटौला समूहका थापा र कांग्रेसका फरक विचार समूहका नेता शेखर कोइराला निकट केदार कार्कीबीचको सम्बन्ध अझै सुमधुर भने भइसकेको छैन ।

अहिले पनि एउटा समूहले अर्को समूहलाई विश्वास गरिहाल्ने अवस्था कोशी प्रदेशमा उत्पन्न भइ नसकेको कांग्रेसीहरू बताउँछन् ।

मुख्यमन्त्री कार्कीलाई असफल बनाउन नेता सिटौला समूहका प्रदेश सांसदले गुटबन्दी गरेको कार्की निकटहरूसँग भन्ने गर्छन् । उनी निकटहरू सभामुख चयन र प्रदेशसभामा विधेयकहरू पारित हुन नदिन अनेक बाधा अवरोध सिर्जना गर्दै आएको बताउने गर्छन् ।

सिटौलाले साथ दिएका थापाले बहुमत प्रदेश सांसदको समर्थन जुटाउन नसकेका कारण कोशीमा सरकार निमार्णको अन्तिम विकल्प संविधानको धारा १६८ को उपधारा (५)को सरकार बन्न पुगेको हो । थापा २ पटक मुख्यमन्त्री नियुक्त भएका थिए । उनी मुख्यमन्त्री भए पनि दुवै पटक उनको नियुत्ती अदालतले खारेज गरेको थियो ।

थापाले बहुमत सांसदको समर्थन जुटाउन नसकेर उपधारा (५) को सरकार निर्माणका क्रममा पनि सिटौलाले मुख्यमन्त्री कार्कीलाई पाखा लगाउन सत्ता गठबन्धन दलमा माओवादीका नेता इन्द्रबहादुर आङ्बोलाई अघि सारेका कार्की निकटहरू बताउँछन् ।

कार्कीले कांग्रेसका ८ जना प्रदेश सांसदसहित विद्रोह गरेर एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका छन् । उनी विद्रोह गरेर मुख्यमन्त्री नियुक्त भएपछि सिटौलाले पार्टीभित्र ८ जना विद्रोही सांसदलाई नै कारबाहीका लागि पार्टी सभापति शेरबहादुर देउवालाई चर्को दबाब दिएका थिए ।

मुख्यमन्त्री कार्कीको विद्रोहले सत्ता गठबन्धन नै भत्किने अवस्थामा पुगेपछि मात्रै गठबन्धन दलका शीर्ष नेतृत्वले कांग्रेस नेता शेखर कोइरालासँग चिर्कटोमा हस्ताक्षर गराएर उनलाई गठबन्धनको नै मुख्यमन्त्री स्वीकार गर्न बाध्य बनाएको कार्की निटकहरु दाबी गर्छन् ।

कोशीमा खाली भएको राष्ट्रियसभा निर्वाचनमा कोइराला समूहले डा. मिनेन्द्र रिजाललाई उम्मेदवार बनाउन चाहन्थ्यो । पार्टी भित्रको विवाद सतहमै रहे पनि मुख्यमन्त्री कार्कीले आफू राजनीतिक बेइमानी नगर्ने बताए ।

उनले आफू पार्टीको इमानदार सिपाही भएको भन्दै पार्टीको निर्णय कार्यान्वयन गर्न लागि पर्ने बताए । उनले भने, ‘अरूले के गरे भन्दा पनि मैले के गरे भन्ने हो । राष्ट्रिय सभा निर्वाचनमा पार्टीको निर्णय कार्यान्वयन गर्नु र उम्मेदवार जिताउनु मेरो कर्तव्य हो ।’

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *