जनमोर्चालाई गठबन्धनले तिरेको गुन- ‘राष्ट्रपति कोटा’ मा छानिएकी दुर्गा को हुन् ?

काठमाडौं । सत्ता गठबन्धनभित्र रहेर पनि सत्ताको तर मार्नमा खासै रुचि नदेखाएको दल हो राष्ट्रिय जनमोर्चा । सादगी नेता चित्रबहादुर केसीको नेतृत्वमा रहेको यो पार्टी सरकारमा सहभागी छैन र जान इच्छुक पनि छैन ।

तर, राष्ट्रियसभाको चुनावमा गठबन्धन दलहरूबीच भागबन्डा हुँदा भने चित्रबहादुरले पनि एक सीटमा दाबी गरे । राजमोसँगै सीके राउतको जनमत, महन्थ ठाकुरको लोसपा र रेशम चौधरीको नागरिक उन्मुक्तिले पनि एक सीट आशा गरिरहेका थिए । तर, ठूला चार दलले आपसी भागबन्डा गर्दा साना दलहरूलाई भाग पुगेन ।

राष्ट्रियसभामा चुनाव हुनेमध्ये जम्मा १९ सीटमध्ये कांग्रेस र माओवादीले नै १६ सीट कब्जा गरेका छन् । बाँकी ३ मा दुई नेकपा एसलाई र एक जसपालाई दिइएको छ । यी दुवै दल असन्तुष्ट छन् ।

यता, चुनावको भागबण्डामा नसमेटिए पनि राजमोले एक सीट पाउने भएको छ । उसलाई ‘राष्ट्रपतिको कोटा’ दिएर गठवन्धनले सेटल गरेको हो । राजमोकी उपाध्यक्ष दुर्गा पौडेल राष्ट्रपतिबाट मनोनीत भएर माननीय बन्ने भएकी छन् ।

राष्ट्रपति कोटा भन्ने गरिए पनि यो मुलतः सरकार र दलहरूकै हातमा हुन्छ । मन्त्रिपरिषदबाट सिफारिस भएर राष्ट्रपतिबाट नियुक्ति हुने हो । विज्ञलाई नियुक्त गर्नुपर्ने भनिए पनि दलहरूले यसमा पनि राजनीतिक भागबन्डा गर्ने गरेका छन् । यद्यपि, पौडेल स्वच्छ छविकी राष्ट्रवादी नेतृ हुन् ।

सत्ता गठबन्धनसँगमा रहेर पनि राष्ट्रिय जनमोर्चाले आफूलाई अलगरुपमा प्रस्तुत गर्दै आइरहेको छ । यसअघि यो पार्टी नेकपा एमालेसँग निकट थियो । तत्कालीन केपी ओली नेतृत्वको सरकारले संसद् विघटन गरेपछि राजमोले क्याम्प बदलेर नयाँ गठबन्धनतिर लागेको हो । प्रचण्ड सरकारलाई समर्थन गरे पनि राजमो सरकारमा भने सहभागी छैन ।

जनमोर्चा गठबन्धनमा जोडिएपछि पहिले शेरबहादुर देउवा त अहिले पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा दुईवटा सरकार बने । तर, दुवै सरकारमा सहभागी नभइकन राजमोले बाहिरैबाट समर्थन दिइरह्यो ।

सरकारलाई समर्थन गरे पनि गठबन्धनको सबै निर्णयमा राजमो सती गएको छैन । जनमोर्चाकी तत्कालीन प्रतिनिधिसभा सांसद दुर्गा पौडेलले विवादित नागरिकता विधेयकको विपक्षमा मतदान गरेकी थिइन् । अमेरिकी सहयोग परियोजना (एमसीसी) को विषयमा पनि जनमोर्चा क्रिटिकल छ । अध्यक्ष केसी गठबन्धनभित्र हुँदैमा सरकारमै भएको बुझ्न नहुने तर्क गर्ने गर्छन् ।

सरकारलाई बाहिरैबाट समर्थन गरेर गुन लगाइरहेको जनमोर्चाले पहिलोपटक लाभ प्राप्त गर्ने भएको छ, राष्ट्रियसभा सदस्यमा । राष्ट्रियसभाको रिक्त २० सीटको गठबन्धनमा भागबन्डा हुँदा राष्ट्रपतिबाट मनोनीत सदस्य आफ्नो पार्टीले पाउने अध्यक्ष चित्रबहादुर केसीले नेपाल प्रेससँग बताए ।

उनले भने, ‘गठबन्धनमा मनोनीत एउटा हामीलाई दिने सहमति भएको छ । यो फागुनमा मात्रै हुने हो । अहिले गठबन्धनभित्र सहमति भएरै चर्चा आएको हो । हामीले यसलाई स्वीकारेका छौं । तर, त्यो बेलासम्म सहमति के हुन्छ हेरौं ।’

को हुन् दुर्गा ?

पौडेलको आफ्नै बलियो राजनीतिक पृष्ठभूमि छ । तर, उनलाई नेकपा (मसाल) का महासचिव मोहनविक्रम सिंह पत्नी भनेर धेरैले चिन्छन् ।

उनी २०७४ सालको चुनावमा तत्कालीन वाम गठवन्धनको समर्थनमा प्यूठानबाट विजयी भएर प्रतिनिधिसभा सदस्य बनेकी थिइन् । त्यसअघि २०७० सालमा उनी दोस्रो संविधानसभामा समानुपातिक सभासद थिइन् ।

गत मंसिरमा भएको प्रतिनिधिसभाको निर्वाचनमा भने पौडेलले पराजय व्यहोरेकी हुन् । गठबन्धनले समर्थन गर्दासमेत उनी हारिन् । एमालेका सूर्य थापा ४१ हजार ११८ मत ल्याएर जित्दा पौडेलले ३५ हजार ८४४ मत मात्रै ल्याएकी थिइन् ।

नेपाल प्रेससँग कुरा गर्दै पौडेलले आफ्नो नाम टुंगो नलागिसकेको दाबी गरिन् । तर पार्टीले आफूलाई योग्य ठानेर जिम्मेवारी दिए निभाउन तयार रहेको उनको भनाइ छ ।

पौडेलले भनिन्, ‘हामीले सुरुदेखि नै गठबन्धनलाई सहयोग गर्दै आइरहेका छौं । त्यही भएर मनोनित सीट हाम्रो पार्टीलाई दिने भन्ने कुरा हो । तर, मेरै नाममा भन्ने होइन । पार्टीले निर्णय गर्छ ।’

२०२८ सालमा कपिलवस्तुमा जन्मेकी दुर्गाको स्थगायी ठेगाना भने झिम्रुक गाउँपालिका ५ ओखरकोट, प्यूठान हो । उनले स्नातकोत्तरसम्मको अध्ययन गरेकी छन् । दुर्गाले मोहनविक्रमसँग २०५७ सालका विवाह गरेकी थिइन् । उनले आफ्नो राजनीतिक जीवनको सुरुवात २०४० सालबाटै गरेकी हुन् । अनेरास्ववियू छैटौंबाट राजनीति थालेकी दुर्गाले अखिल नेपाल महिला संघको कोषाध्यक्ष, उपाध्यक्ष र अध्यक्षको जिम्मेवारी निभाइसकेकी छन् ।

Comments

One response to “जनमोर्चालाई गठबन्धनले तिरेको गुन- ‘राष्ट्रपति कोटा’ मा छानिएकी दुर्गा को हुन् ?”

  1. laleek Avatar
    laleek

    जनताबाट तिरस्कार भएकी गठेमंगलबाट ओठ लागेकि नेतृको जय होस्, जनताको किन चाहियो !

Leave a Reply

Your email address will not be published. Required fields are marked *