रुपन्देही । नेपालका लागि श्रीलंकन राजदूत सुदर्शना पाथिरानालाई लुम्बिनी विकास कोषले स्वागत गरेको छ । कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) ले शनिवार राजदूत पाथिरानालाई बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गरेका हुन् ।
उपाध्यक्ष डा. लामाले राजदूत पाथिरानासँग बुद्ध जन्मस्थल लुम्बिनीको पर्यटकीय, धार्मिक र ऐतिहासिक विकासका लागि भैरहवा स्थित अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न आग्रह गरे ।
उनले श्रीलङ्का बुद्धिष्ट राष्ट्रसमेत रहेकाले भैरहवा विमानस्थलमा सिधा उडान गर्दा बुद्ध जन्मस्थल लुम्बिनी आउने निकै सहज हुने बताए । एयर फोर्स चिफसमेत रहेर काम गरिसकेका राजदूत पाथिरानाले गौतमबुद्ध विमानस्थलमा श्रीलंकाबाट नियमित उडान हुने प्रतिबद्धता जनाए ।
उनले बुद्ध जन्मस्थल लुम्बिनीजस्तो पवित्र स्थान आउन धेरै श्रीलंकनहरु इच्छुक हुने गरेको बताउँदै सिधा उडान गरेर आउने व्यवस्थाका लागि तत्कालै काम गर्ने बताए । उक्त अवसरमा राजदूत पाथिराना र उपाध्यक्ष डा. लामाबीच लुम्बिनीको धार्मिक, सांस्कृतिक र पर्यटकीय विकास, संरक्षण र संवर्द्धक विषयमा सहकार्यका लागि छलफल भएको छ ।

राजदूत पाथिरानाले शनिवार बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिरको दर्शन गरेका छन् । कोषका सदस्यसचिव सानुराजा शाक्यले राजदूत पाथिरानालाई लुम्बिनीको महत्त्व, यसको पछिल्ला विकासलगायतका विषयमा जानकारी गराए ।
राजदूत पाथिरानालाई लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराई, कार्यकारी सदस्य श्याम रोका, सूचना तथा जनसम्पर्क अधिकृत हरिध्वज राई, लेखा अधिकृत भीम बस्नेतले समेत स्वागत गरेका थिए । राजदूत पाथिरानाले लुम्बिनीसँगै भैरहवा स्थित गौतमबुद्ध विमानस्थलको समेत भ्रमण गर्नेछन् ।

Leave a Reply