काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का सम्मानित नेता झलनाथ खनालले भारतीय दूतावासले दिने भनेको २० करोड रुपैयाँ गलत ढंगले देश हित विपरीत प्रयोग हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
दूतावासले दिएको पैसा गलत ढंगले प्रयोग हुन सक्ने भन्दै उनले सरकारलाई निर्णय सच्याउन आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेको नेता खनालले भने- त्यसरी दिने पैसा अनेकन् रूपमा प्रयोग हुन सक्छ । गलत ढंगले प्रयोग हुन सक्ने सम्भावना बढी हुन्छ । सरकारले यो कुरालाई सच्याओस् ।
नेकपा एसको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले भारतले अनुदान दिने भए सरकारका योजनामा दिनुपर्ने तर यसरी दूतावासबाट पैसा बाँड्ने संस्कार राम्रो नभएको बताए ।
उनले भने- देशलाई कसैले अहिलेसम्म प्रभुत्वमा राख्न सकेको छैन । नेपाल स्वतन्त्र देश हो । यस्तो स्वतन्त्र देशले अरू कुनै देशको दूतावासबाट सिधै रकम ल्याउने कुरा राष्ट्रिय हित विपरीत हो । सुरुमा तीन करोड थियो । त्यो पनि गलत थियो । पछि ५ करोड र अहिले २० करोड भयो यो सबै गलत हो । यदि भारतले हामीलाई अनुदान लिने हो कति अरब कति खरब दिने हो त्यो लिन्छौँ । त्यसमा नेपाल सरकारले योजना बनाएर यो देशको विकास गर्ने हाम्रो अधिकारलाई सुरक्षित राख्नुपर्ने हुन्छ । यो अधिकार गठबन्धन सरकारले सुरक्षित राख्न सकेन । त्यस कारण यो राष्ट्र हित विपरीत छ ।
उनले छिमेकीहरूसँगको समान ढंगले अगाडि बढाउनुपर्ने पनि बताए ।

Leave a Reply