काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन स्ववियुले परीक्षा नियन्त्रकको कार्यालयले गरेको कार्यक्रममा आज नेपाल विद्यार्थी सङ्घले हुल हुज्जत गरेको आरोप लागेको छ ।
स्ववियुले ११ गतेदेखि परीक्षा नियन्त्रकको कार्यालयकाको सेवा सुधारको लागि विभिन्न दबाब मूलक कार्यक्रम गर्दै आइरहेको छ । यसैबिच आज विद्यार्थी संघ संगठनको नेतृत्वहरुले स्ववियुको अभियानमा समर्थन जनाउने कार्यक्रम तय भएको थियो ।
तर, उक्त कार्यक्रमलाई नेपाल विद्यार्थी सङ्घले एकलौटी गर्न खोजेको, नाराबाजी गरेको , झन्डा प्रदर्शन गरेको प्रति विरोध जनाउँदै स्ववियु सचिव सिद्धान्त भट्ट सहित १० जना स्ववियु सदस्यहरूले विज्ञप्ति जारी गरेका छन् ।
विद्यार्थीको साझा संस्था स्ववियुमा राजनीति गर्ने उद्देश्य राखेर लाखौँ विद्यार्थीको मुद्दालाई बेवास्ता गर्दै संस्थाको निर्णय र मर्म विपरीत स्ववियुको जिम्मेवार पदाधिकारीले गरेको भन्दै विज्ञप्तिमा विरोध जनाइएको छ ।
‘स्ववियुको पूर्वनिर्धारित कार्यक्रम अनुसार आज हामीले क्रियाशील विद्यार्थी सङ्गठनका केन्द्रीय अध्यक्षहरूलाई हाम्रो आन्दोलनमा सङ्गठनको तर्फबाट एकेवद्धता जाहेर गर्ने,साथ सहयोगको प्रतिबद्धता जनाउने गरी तयारी गरेका थियौँ तर, स्ववियु सभापतिबाटै नेविसंघको झन्डा सहित नाराबाजी गर्ने काम भयो’ सचिव भट्टले नेपाल प्रेसलाई भने उहाँको त्यो गतिविधिको अधिकांश स्वकीयु सदस्यहरूले पनि विरोध जनाएका छन् ।’
यस्तै, वामपन्थी पाँच दलका विद्यार्थी सङ्गठनहरूले पनि उक्त कार्यको विरोध जनाउँदै विज्ञप्ति जारी गरेका छन् । अनेरास्ववियु त्रिवि इन्चार्ज प्रशान्त भण्डारी, अखिल क्रान्तिकारीका त्रिवि अध्यक्ष प्रदीपराज कपाडी भट्ट, अनेरास्ववियू त्रिवि अध्यक्ष सामर गौतम, नेपाल समाजवादी विद्यार्थी युनियन त्रिवि समिति इन्चार्ज रामनरेश यादव र अखिल छैटौँ त्रिवि अध्यक्ष संगम थापाले संयुक्त विज्ञप्ति जारी गर्दै स्ववियु सभापतिको कार्यप्रति विरोध जनाएका छन् ।


Leave a Reply