रिसोर्टको फाइल रोकेको भन्दै वनमन्त्रालयमा दीपक खड्काले पोखे आक्रोश, मन्त्रीले पनि सही थापे (भिडिओ)

काठमाडौं । पूर्वराज्यमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सांसद दीपक खड्काले आफ्नो लगानीमा खोल्न लागेको रिसोर्टलाई अनुमति नदिएको भन्दै वन मन्त्रालयमा पुगेर आक्रोश पोखेका छन् । आफ्नो फाइल रोकिनुको कारणको जानकारी नदिए मन्त्रालयमा नै अनसन बस्ने उनले चेतावनी दिएका छन् ।

रिसोर्ट सञ्चालनको फाइल चार वर्षसम्म मन्त्रालयमा थन्काएर राखिएको भन्दै खड्काले सबै निकायको सहमति जुटाएर फाइल पेश गर्दा नियतवस रोकिएको दाबी गरे । मुलुकमा रोजगारी सिर्जनाका साथै आर्थिक क्षेत्रलाई सहयोग पुराउन रिसोर्ट खोल्न लागेपनि समयमा नै अनुमति नदिएर करौडौं नोक्सानी भएको उनको जिकिर छ ।

यता वन मन्त्रालयका सचिव डा. दीपककुमार खरालले शिवपुरी निकुञ्ज क्षेत्रमा रिसोर्ट खोल्दा पूरा गर्नुपर्ने मापदण्डमा समस्या देखिएकाले फाइल अघि बढ्न नसकेको बताए । उनले कानूनले तोकेबमोजिम दण्ड जरिवाना गरेपनि अन्य काम प्रक्रियाअनुसार हुन नसकेको देखिएको जिकिर गरे । कर्मचारीले तोकिएको मापदण्डविपरीत फाइल अघि बढाउन नमिल्ने बताए ।

त्यस्तै वनमन्त्री वीरेन्द्रप्रसाद महतोले यसमा जरिवाना तिरिसकेपछि पनि फाइल रोकेर राख्नु कर्मचारीको नियतको प्रश्न रहेको बताएका छन् । कर्मचारीले आफूलाई नटेर्ने भन्दै वन मन्त्रालयको कुनै औचित्य नरहेको बरु वन विभागमात्रै राख्न प्रधानमन्त्रीलाई सुझाव दिएको उनको भनाइ छ ।

मन्त्री महतोले वन मन्त्रालयमा नियमसंगत आएका अन्य फाइललाई पनि कर्मचारीले रोक्ने गरेको गुनासो गरेका छन् ।

Comments

One response to “रिसोर्टको फाइल रोकेको भन्दै वनमन्त्रालयमा दीपक खड्काले पोखे आक्रोश, मन्त्रीले पनि सही थापे (भिडिओ)”

  1. ksp pyl Avatar
    ksp pyl

    अरूका भएका घर खेती हटाएर निकुञ्ज बनाउने । अनि यिनका पैसा खाएर यिनलाई होटल खोल्न दिने ? निकुञ्ज भनेको होटल खोल्न हो ? कसैले होटल खोल्न अनुमति दिएको छ भने त्यसलाई जेल हाल्नुपर्छ । कुनै संरचना बनाएको छ भने तुरून्त भत्काएर कारवाही गर । यो के नाटक गरेको नि पत्रकार बोलाएर ? पत्रकारले पनि पाएपछि जे पनि समाचार बनाईदिईहाल्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *