हेटौँडा । बागमती प्रदेशको पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने यहाँका कला संस्कृति, भेषभुषालाई विश्वमाझ चिनाउने उद्देश्यको साथ बागमती प्रदेशले भ्रमण वर्ष २०२४ को सुरुवात भएको घोषणा गरेको छ ।
प्रदेशको राजधानी हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरी गरिएको कार्यक्रममा प्रदेश भ्रमण वर्षको आयोजक बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले भ्रमण वर्षलाई भब्य बनाइने जानकारी गरायो । तर, भ्रमण वर्षको लक्ष्य, उदेश्य, भ्रमण वर्षको लागि पहिचान गरिएको पर्यटकीय स्थलको बारेमा भने मन्त्रालयनै अनिविज्ञ रहेको पाईएको छ ।
सन् २०२४ लाई भ्रमण वर्षको रुपमा घोषणा गरेको मन्त्रालयले २०२४ को जनवारी १ बाट बल्ल भ्रमण वर्षको तयारी प्रारम्भ भएको जानकारी दिएको छ । भ्रमण वर्षको ब्रोसर छाप्ने, टिसर्ट लगाएतका सामग्री प्रिन्ट गर्ने भन्दै मन्त्रालयले भ्रमण वर्ष घोषणा गर्नुपूर्व गरिसक्नुपर्ने कामहरुलाई बल्ल सुरु गर्न लागेको जानकारी दिएको हो ।
भ्रमण वर्ष मानाउनको लागि जम्माजम्मी १ करोड रुपैँया मात्र रहेको बताउँदै बागमती प्रदेशका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री पुकार महर्जनले थप दाताहरु खोजिरहेको बताए ।
भ्रमण वर्षको औपचारिक सुरुवात गरिसकेको सरकारले अझैपनि दाता खोज्ने कामको सुरुवात गर्ने जनाएपछि भ्रमण वर्ष कागजमा मात्र सिमित कार्यक्रम हुने देखिएको छ । मन्त्री महर्जन भन्छन्, ‘तयारी कम भएकै हो, तर घोषणा भैसकेको कार्यक्रमलाई हामि राम्रो ढगले गर्ने योजना निर्माण गरिरहेका छौँ ।’
भ्रमण वर्षको विषयमा जानकारी दिँदै मन्त्रालयका सचिव गोविन्द रिजालले पर्यटकीय क्षेत्रको नक्सा बनाउने काम सुरु गरिसकेको बताए ।
उनले भने, ‘उचित नारा बनाउनेदेखि ब्रोसर बनाउने, टिसर्ट तयार पारेर व्यापक प्रचारप्रसार गर्छौं, पर्यटकीय क्षेत्रको नक्सा पनि हामी तयार पार्छौं । स्थानीय पर्यटकीय क्षेत्रका व्यवसायीसँग सहकार्य गरेर प्रवर्द्धनात्मक कार्यक्रम गर्छौं ।’
मन्त्रालयले भ्रमण वर्षको लागि बागमती प्रदेशमा पर्यटकहरु किन आउने ? यहाँको रहनसहन, कला संस्कृतिको विषयहरु के–के रहेका छन् भन्नेतर्फ ध्यान दिएको पाइएन ।
भ्रमण वर्षलाई सफल बनाउनको लागि आवश्यक पर्ने सामन्य तयारी समेत नगरि मन्त्रालयले हतार गरी भ्रमण वर्ष शुभारम्भ गरेको भन्दै पत्रकारहरुले गरेको जिज्ञासामा मन्त्रालयको तर्फबाट स्पष्ठ जवाफ भने पाइएन् ।
बजेट कम भएको कारण आफुहरुले तामझमको साथमा भ्रमण वर्षको शुभारम्भ गर्न नसकेको भन्दै मन्त्रालयले भ्रमण वर्षको लाई सफल बनाउनको लागि सबैलाई सहयोगको अपिल गरेको छ ।

Leave a Reply