भक्तपुर । भक्तपुरमा क्रियाशील राजनीतिक दलहरुमध्ये सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र कमजोर नै मानिन्छ । अघिल्लो निर्वाचनको समानुपातिकतर्फको मत हेर्दा भक्तपुरमा माओवादी केन्द्र छैटौं स्थानमा रहेको थियो । उसलाई राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत पछि पारेको थियो ।
समानुपातिक मतअनुसार भक्तपुरमा नेपाल मजदुर किसान पार्टी पहिलो दल बन्दा नेकपा एमाले र नेपाली कांग्रेस क्रमशः दोस्रो र तेस्रो बने । माओवादी केन्द्रले भक्तपुरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुनै सांसद जितेन । तर, बागमती प्रदेशसभामा समानुपातिकबाट उसले भक्तपुरका दुई जनालाई सांसद बनायो । बागमतीमा माओवादी नेतृत्वमा सरकार गठन भए पनि भक्तपुरका कुनै पनि सांसदलाई मन्त्री बनाइएन । बरु भक्तपुर क्षेत्र नं २ (ख) बाट निर्वाचन नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रमान श्रेष्ठ मन्त्री बने ।
माओवादी शान्ति प्रक्रिया आएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा माओवादी दोस्रो पार्टी बनेको थियो । त्यसपछि लगातार ओरालो लागेको पार्टी एमालेसँग एकता भई बनेको नेकपा (नेकपा) फुटेपछि झन् कमजोर बनेको थियो । यसपछिको पार्टीको अवस्था अघिल्लो निर्वाचनले छर्लङ्ग पारेको छ । यसपछि माओवादी केन्द्रले देशैभर ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ गरेको छ ।
तीन महिना निर्धारण गरेर गत भदौ १६ गते सुरु गरिएको अभियान बीचमा दशैँतिहारलगायतका चाडपर्व परेपछि १ महिना थप गरिएको थियो । सो समयसीमासमेत सकिएपछि माओवादी केन्द्रले देशैभरि अभियानको समीक्षा गरिरहेको छ । सोहीबमोजिम भक्तपुरले पनि अभियानको समीक्षा गरेको माओवादी केन्द्रका भक्तपुर जिल्ला समन्वय समिति संयोजक सुनिल गोठे वासुले बताए ।
उनका अनुसार पार्टीको विस्तारिक बैठक बसेर अभियानको प्रभावबारे समीक्षा गरिएको हो । शनिबार सानोठिमीमा सम्पन्न समीक्षात्मक विस्तारित बैठकमा अभियानमा जिम्मेवारी लिएका नेता कार्यकर्ताले आआफ्नो बिफ्रिङ गरेका थिए । बैठकमा बिफ्रिङ गरेका ३ दर्जन अभियानकर्ताले नेता कार्यकर्ता सक्रिय भए भक्तपुरमा पार्टी बलियो बन्ने निष्कर्ष सुनाएको संयोजक वासुले जानकारी दिए ।
अभियानअन्तर्गत भक्तपुर जिल्ला संयोजक रहेका माओवादी केन्द्रका केन्द्रीय सदस्य केशवप्रसाद नेपालको अध्यक्षतामा भएको बैठकमा जिल्लाका ४ वटै नगर समितिको तर्फबाट अभियानको अघि र पछिको पार्टीको अवस्थाबारे जानकारी गराइएको थियो ।
बागमती प्रदेश सांसदसमेत रहेकी पार्टी केन्द्रीय सदस्य अमृता नेपालले चाँगुनारायण नगरपालिकाका घरहरुमा पुग्दा पार्टीप्रति सकारात्मक प्रतिक्रिया पाएको र यहाँ पार्टीले विकास निर्माणमा अरुको भन्दा बढी योगदान गरेको जानकारी पाएको बिफ्रिङ गरिन् ।
नेता कार्यकर्ताले आवश्यक समय दिन सके पार्टी बलियो बन्ने उनले बताइन् ।
पूर्वप्रदेश सांसद एवं अर्की केन्द्रीय सदस्य प्रतिमा श्रेष्ठले पार्टीले गरेका कामको प्रचारप्रसार हुन नसक्दा काम गर्ने कालु मकै खाने भालु जस्तो भएको बताइन् । नेता कार्यकर्ताहरुले पार्टीमार्फत गरिएको पहल र कामबारे प्रचारप्रसार गर्नुपर्ने उनको भनाइ थियो ।
पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरमा जिम्मेवारी सम्हालेका दीर्घराज श्रेष्ठले भक्तपुरमा नेता धेरै भएको तर जनतामा नजाँदा पार्टी कमजोर बनेको निष्कर्ष सुनाए । उनले नेताहरुप्रति जनताले राखेका अपेक्षा पूरा गर्दै पार्टीमा गोलबन्द गर्नुपर्ने बताए ।
‘भक्तपुरका जनतामा मार्क्सवाद र कम्युनिष्ट स्कुलिङ राम्रो छ’, उनले भने, ‘नेताहरुले सानो प्रयास गरे सजिलै उनीहरु आकर्षित हुने अवस्था छ ।’
त्यस्तैगरी सूर्यविनायक नगरमा जिम्मेवारी पाएकी सांसद एवं केन्द्रीय सदस्य विमला सुवेदीले कार्यकर्ताहरुको उपस्थिति राम्रो भए पनि जनतालाई आकर्षित गर्ने नेतृत्व विकास गर्नुपर्ने बताइन् ।
बैठकमा वाईसीएल इन्चार्ज एवं पार्टीका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा दीपशिखाले भक्तपुर जिल्लामै माओवादी केन्द्रको बलियो जनाधार रहे पनि त्यसलाई नेता कार्यकर्ताले जगाउन नसकेको टिप्पणी गरे । जिल्लाको मध्यपुर थिमीमा जिम्मेवारी पाएका उनले भने, ‘नेता कार्यकर्ताहरु एक ढिक्का भएर आत्मविश्वासका साथ जनताको घरमा जाने हो भने जनता माओवादीलाई स्वागत गर्न आतुर छन् ।’
अभियानका मुख्य संयोजक केन्द्रीय सदस्य नेपालले जिल्लाका सबै पालिका, वडा, गाउँबस्तीहरुमा अभियानले माओवादी केन्द्रलाई थप उचाइमा उठाएको दाबी गरे ।
‘अभियानले पार्टीलाई जिल्लामा पुनःस्थापित गरेको छ’, उनले भने, ‘यसले कार्यकर्तामा उत्साह, ऊर्जा र प्रेरणा प्रदान गरेको छ । जनतामा माओवादीप्रति नयाँ आशा र विश्वास बढेको छ ।’
नेता नेपालले अभियानको समग्र प्रतिवेदन तयार पार्ने बताए । त्यसले माओवादी केन्द्रलाई जिल्ला, नगर, वडा र गाउँबस्तीमा कसरी अघि बढ्ने भन्नेबारे मार्गनिर्देश गर्ने उनको दाबी छ ।
सबै नेताहरुले आफ्नो बिफ्रिङमा अभियानले जगाएको जाँगरलाई सेलाउन दिन नहुने र अभियानपछि पनि उत्तिकै सक्रियतापूर्वक जनताको घरघरमा र जनजनमा जोडिनुपर्ने आवश्यकता औंल्याएको बैठकमा सहभागी जिल्ला नेता नरेश रञ्जितले जानकारी दिए ।

Leave a Reply