औपचारिक सदस्य हुने केहि दिन बाँकी हुँदा ब्रिक्स्को सदस्य नबन्ने अर्जेन्टिनाको औपचारिक पत्र

काठमाडौं। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका देशको सुरुवाका अंग्रेजी शब्दहरू मिलाएर बनेको ब्रिक्स्को सदस्य बन्न अर्जेन्टिनाले अस्वीकार गरेको छ ।

शुक्रवार यसको औपचारिक जानकारी दिइएको हो । चार दिन पछि अर्थात् सन २०२४ जनवरी १ बाट औपचारिक रूपमा ब्रिक्स् सदस्य हुन लागेको अर्जेन्टिना यो कदमबाट बाहिर हटेको हो ।

जनवरी १ बाट इजिप्ट, इरान, साउदी अरेबिया, इथियोपिआ र संयुक्त अरब इमिरेटसँगै सदस्य बन्ने लाइनमा भएको अर्जेन्टिना सदस्यता त्यागेको पत्र ब्रिक्स्का सबै सदस्यहरूलाई पठाइसकेको औपचारिक जानकारी दिएको जर्मनीको विश्व च्यानल डिडब्लूले उल्लेख गरेको छ ।

नयाँ राष्ट्रपति खाबिअर मिले आएसँगै उनको चुनावी प्रतिबद्धता अनुसार यस्तो निर्णय आएको हो । ब्रिक्स्को समुहमा नजोडिए पनि ब्रिक्स देशहरुसँगको दुई पक्षिय व्यापार तथा अरू कारोबार भने जारी रहने राष्ट्रपति मिलेले भन्दै आएका छन् ।

कम्युनिष्ट देशहरूसँग कुनै कारोबार नगर्ने भनेर चुनावी अभियान चलाएका उनले ब्राजिल तथा चीनसँग राम्रो सम्बन्ध नहुने बताएका थिए । तर, चुनाव जितेपछि भने उनले आफ्नो कडाइपन कम गरेर निजी क्षेत्रले चाहेको देशसँग व्यापार तथा कारोबार गर्न सक्ने बताउन थालेका छन् ।

विश्वको ४० प्रतिशत जनसंख्या तथा २५ प्रतिशत भन्दा धेरै अर्थतन्त्र ओगट्ने ब्रिक्स्मा जोडिन ४० भन्दा धेरै देशहरूले औपचारिक तथा अनौपचारिक इच्छा जाहेर गरे पनि अर्जेन्टिना भने नयाँ दक्षिणपन्थी राष्ट्रपति आएसँगै सदस्यता पाएर पनि बाहिरिन तयार भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *