तनहुँको विकासमा राष्ट्रपतिकै पहलपछि यी आयोजनाको कामले पायो तीब्रता, कसको प्रगति कति ?

दमौली । राष्ट्रपति रामचन्द्र पौडेलले गृह जिल्ला तनहुँमा सञ्चालित राष्ट्रिय गौरवका साथै अन्य विकास आयोजनामा चासो बढाएसँगै काममा तीब्रता आएको छ ।

राष्ट्रिय गौरवको आयोजना तनहुँ हाइड्रोपावर, राष्ट्रिय योजनाहरू पृथ्वी राजमार्ग स्तरोन्नति, डुम्रे-बेँसीसहर सडक आयोजना, भानु मार्ग, बुद्धसिंह मार्गको काम तिव्र गतिमा अगाडि बढेको ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले बताए ।

राष्ट्रपति पौडेलकै विषेश चासोका कारण तनहुँ सभा हलको निर्माण सम्पन्न भई उदघाटन समेत भइसकेको छ । त्यसैगरी राष्ट्रपति पौडेलले व्यास मार्ग, घुमाउनेको मोटरेबल पुल, देवघाटको मोटरेबल पुल , गाइघाटको पुल निर्माणमा पनि ताकेता गरेका छन् ।

राष्ट्रपतिले सडक विभागसम्बद्ध अधिकारीहरूलाई बोलाएर छलफल गरी विकास निर्माणका कामलाई छिटोछरितो बनाउन निर्देशन दिँदै आएका छन् । गत असोज ६ गते व्यास नगरपालिका –३ बिपी वन बाटिका, दमौलीमा निर्माण गरिएको जिल्ला सभाहलको शनिबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले राजनीतिमा हात नहाल्ने तर विकासबाट हात नझिक्ने प्रतिबद्धता जनाएका थिए ।

तनहुँको विकास निर्माणका कामको प्रगतिका बारेमा आफ्नै सचिवालयबाट अनुगमन गराउने, जनप्रतिनिधिहरूलाई अनुगमन गराउने र सम्बन्धित निकायलाई घचघच्याउने काम निरन्तर गरेका कारणले विकास निर्माणका कामले तिव्रता पाएको पुल निर्माण समितिका टंकनाथ पौडेलले बताए ।

चितवन र तनहुँ जोड्ने देवघाट ठिंगुराको पुल अलपत्र अवस्थामा रहेको र राष्ट्रपति पौडेलको पहलमा अर्थमन्त्रालयले थप वजेटको व्यवस्था गरेपछि फेरि निर्माण कार्य सुरु भएको उनको भनाइ छ । पौडेलले भने–‘यो पुल निर्माणमा एकदमै ढिलाई भएपछि राष्ट्रपतिज्यूले म यो पुलको उद्घाटन गर्न माघ ५ गते जाने भनेपछि अहिले निर्माण कार्य हतार हतारमा भइरहेको छ ।’

राष्ट्रपति पौडेलले आफ्नै पहलमा सुरुवात भएको केशवटार मार्ग, बुद्धसिंह मार्ग, व्यास मार्ग लगायतका सडकको स्तरोन्उतिका लागि चासो दिएका कारण ती सडक निर्माण अहिले तिव्र गतिमा भइरहेको बताइएको छ ।

व्यासको १०८ फिटको मूर्ति निर्माण, व्यास–पराशर पार्कलगायतको माध्यमबाट धार्मिक गन्तव्य बनाउने, राष्ट्रिय विभूति आदिकवि भानुभक्तको जन्मस्थल चुँदीरम्घा र त्यस आसपासको क्षेत्रलाई साहित्यिक तीर्थधाम बनाउने तथा राष्ट्रिय एकताको केन्द्र बनाउने कामलाई पनि राष्ट्रपति पौडेलले अग्रसरता लिएको भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले बताए ।

त्रिपाठीले भने–‘आदिको काममा ढिलाइ भएकोबारे राष्ट्रपतिसमक्ष जानकारी गराएका थियौ । राष्ट्रपतिज्यूले विकासका बारेमा चासो राखी प्रगतिबारे जानकारी लिने गर्नुभएको छ ।’ त्यस्तै देवघाट गाउपालिकामा अत्याधुनिक बृद्धाश्रम निर्माणमा पनि लागि राष्ट्रपति पौडेलले पहल थालेका छन् । तातोपानी र लिफ्ट सहितको बृद्धाश्रम निर्माणका लागि जग्गा खोजी कार्य भइरहेको छ ।

देवघाट गाँउपालिकाका अध्यक्ष तीलबहादुर थापाका अनुसार देवघाट क्षेत्र विकास समितिको अगाडि रहेको सरकारी जग्गामा बृद्धाश्रम बनाउने बारेमा राष्ट्रपति पौडेलसँग छलफल भएको छ । तनहुँमा राष्ट्रपति पौडेलकै पहलमा शुक्लागण्डकी नगरपालिकामा निर्माण भएको जीपी कोइराला राष्ट्रिय स्वास्प्रस्वास उपचार केन्द्रको स्तरोन्ती, तल्लो तनहुँ जलविद्युत आयोजना काम अगाडि बढाउनका लागि पनि पहल बढेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *