महाधिवेशनको निम्तो बाँड्न जनताको बस्तीमा रेशम चौधरी

कैलाली । आगामी पुस २६ गते बाट सुरु हुने नागरिक उन्मुक्ति पार्टीको पहिलो महाधिवेशनका लागि अहिले संरक्षक रेशमलाल चौधरी तीव्र तयारीमा छन् ।

पहिलो पटक आयोजना हुन लागेको महाधिवेशनलाई ऐतिहासिक र भव्य बनाउन गाउँ बस्तीमा अभियान सुरु गरिएको उनले बताए ।

शुक्रवार टीकापुर न पा वार्ड न १ र २ अन्तर्गत बिजयनगर मुक्त कमैया शिविर बाट महाधिवेशनको निम्तो बाँड्दै उनले समस्यामा रहेका हरेक नागरिकको उन्मुक्ति नागरिक उन्मुक्ति पार्टीले मात्रै गर्न सक्ने बताएका छन् ।

सोही क्षेत्रबाट अघिल्लो पटक भारी मतले रेशम चौधरी निर्वाचित भएका थिए भने अहिले उनको पत्नी नागरिक उन्मुक्तिका अध्यक्ष रन्जिता श्रेष्ठ निर्वाचित भएकी छन् । श्रेष्ठ अहिले नेपाल सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री छिन् ।

दुई साता पछि हुन लागेको महाधिवेशनको निम्तो बाँड्न बस्ती पुगेका संरक्षक चौधरीले अहिले नागरिकमा चुनावको भन्दा बढि रौनक पाएको बताए ।

‘चुनाव भन्दा माहौल राम्रो छ । कामको बेलामा पनि उहाँहरू घर छोडेर सहभागी भइरहनु भएको छ’ संरक्षक चौधरीले भने ‘हामीलाई जनताको विश्वास गरिरहनु भएको छ हामी त्यो विश्वासलाई कायम राख्न पक्षमा छौँ ।’

संरक्षक चौधरीको नेतृत्वमा महाधिवेशनको निम्तो बाँडिरहेका र अब निर्वाचित क्षेत्र स्तरमा त्यहाँबाटै निर्वाचित सांसदहरू लाग्ने उनले बताए । नागरिक उन्मुक्ति पार्टीले पहिलो पटक आठ हजार प्रतिनिधि उपस्थित गराउने गरि महाधिवेशनको आयोजना गर्न लागेको हो । उक्त महाधिवेशनमा सहभागी हुन चौधरीले सबैलाई भेटेरै आग्रह गरिरहेका छन् ।

‘घरदैलो गर्दै त्यहाँका जनतालाई महाधिवेशनको निम्तो दिइरहेका छौँ ’ उनले भने हाम्रो ‘महाधिवेशन प्रतिनिधिका दृष्टिकोणले मात्रै होइन सहभागिताको दृष्टिकोणले पनि ऐतिहासिक बन्दै छ ।’

८ हजार प्रतिनिधि आउने

पहिलो निर्वाचनमै उल्लेख्य जनमत पाएको नागरिक उन्मुक्ति पार्टीको आसन्न महाधिवेशनमा ८ हजार प्रतिनिधिले भाग लिने जनाएको छ । महाधिवेशनले २८ पदाधिकारीसहित ५०१ सदस्यीय केन्द्रीय समितिको निर्वाचन हुने छ।

नाउपामा अध्यक्ष, सहध्यक्ष, सात उपाध्यक्ष, महासचिव, ७ सहसचिव र एक कोषाध्यक्ष निर्वाचित हुनेछन् । महाधिवेशनमा सबै जिल्लाको प्रतिनिधि गराउने तयारी गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *